एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
नेपाल भारत सिमा सुरक्षा समन्वय समितिको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।सीमा सुरक्षा, सीमा अतिक्रमण नियन्त्रण, लागु औषध ओसार पोसार नियन्त्रण गर्ने लगायतका निर्णय गर्दै नेपाल र भारतका सुरक्षाक अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाल भारतको सीमा क्षेत्रमा रहेको सिमा स्तम्भलाई अनुगन गरेर मर्मत सम्भार गर्नुपर्ने आवश्यक देखिएको बैठकमा बताएका थिए । यसका साथै बैठकमा लागु औषध दुव्र्यसन तथा लागुऔषध कारोबार नियन्त्रण गर्न सूचना आदान प्रदान गर्ने सहमति भएको उनले बताए ।
बिहारमा रक्सी प्रतिबन्ध रहेकाले नेपाल तर्फ रहेका रक्सी पसलहरुको अनगुमन गर्न तथा आपराधिक चरित्रका व्यक्तिको आवतजावतमा कडाई गर्न आफूहरुले नेपाली पक्षलाई आग्रह गरेको भारत मधुवनीका डिएम अरविन्दकुमार वर्माले बताए ।
बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले नेतृत्व गरेका थिए भने भारत तर्फबाट मधुवनी जिल्लाका डिएम अरविन्दकुमार वर्माले गरेका थिए ।
बैठकमा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसनधान विभागका प्रमुखको उपस्थिति रहेको थियो । त्यसैगरि भारतबाट मधुवनी जिल्लाका डिएमसहित सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।