एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १३ :
मधेस प्रदेशका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले शिक्षा र स्वास्थ्यको सम्पूर्ण अधिकार प्रदेश मातहत आउनु पर्ने बताएका छन् ।
नेपाल शिक्षक संघ धनुषाको ९औँ महाधिवेशनको उदघाटन सत्रमा प्रदेशसभा सदस्य यादवले शिक्षा र स्वास्थ्य प्रदेश मातहत नल्याएसम्म प्रदेशमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउन नसकिने बताए । अहिले शिक्षा र स्वास्थ्य पालिका मातहत राखिएको छ, उनले भने ‘यी दूबै क्षेत्र प्रदेश मातहत ल्याउनु पर्छ अनि मात्रै प्रदेश सरकारले समेत शिक्षा र स्वास्थ्यमा सुधारका लागि काम गर्न पाउने छ ।’
यादवले मुलुकमा अहिले रहेको शिक्षा नितिमा समेत त्रुटी रहेको बताए । शिक्षा निति नै त्रुटीपूर्ण रहेकाले पढेलेखेका युवाहरुलाई समेत वैदेशिक रोजगारीमा बाध्यतामा जानु परिरहेको उनको भनाई थियो । ‘यहाँका जनशक्ति विदेश पलायन हुँदै गईरहेका छन्, उनले भने ‘युवाहरु अध्ययन गर्छन तर रोजगारी पाउँदैनन्, त्यसैले यहाँ कुन किसिमको सिलेवश हुनु परयो जसले रोजगारी सिर्जना गर्छ त्यस विषयमा छलफल हुनु आवश्यक छ ।’
कुन प्रदेशमा कस्तो शिक्षा आवश्यक छ त्यसमा छलफल गरेर सोही अनुसारको शिक्षा निति ल्याउनुपर्नेमा उनले जोड दिए ।
नेपाल शिक्षक संघ धनुषाको ९र्औँ जिल्ला अधिवेशनको उदघाटन सत्र जिल्ला अध्यक्ष राम सिनेही यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।