एसपी रिपोर्टर
जनकपुरधाम, फागुन :
धनुषा प्रहरीले चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–१ बस्ने २२ ऋषि कुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–६ तारापट्टि बस्ने श्याम साहको घरमा चोरी गरिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।
ठाकुरलाई साहको घरभित्र प्रवेश गरी चोरी गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तारापट्टीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यता, चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरमाथि घटनास्थलमै कारवाही हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए ।
पीडित परिवारले चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरलाई आफूहरुले नै ठाउँका ठाउँ कारवाही गर्न पाउनुपर्ने अडान राख्दा प्रहरीसँग भनाभनसमेत भएको डीएसपी गौतमले बताए ।
तर, पीडित परिवारले भने प्रहरीले चोरलाई संरक्षण दिएर भगाउन खोज्दा आफूहरुले विरोध जनाएको बताएको छ ।
पक्राउ परेका ठाकुरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको धनुषा प्रहरीले जनाएको छ ।