एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १२ : अवस्था समान्य हुँदा यतिबेला प्रसिद्ध जानकी मन्दिर दुलहीझैं सजाइएको हुन्थ्यो । तर विश्वव्यापी कोरोना भाइरस माहामारीको त्रास र लकडाउनको बाध्यात्मक परिस्थितीका कारण जानकी मन्दिर अहिले आम सर्वसधारणको प्रवेशका लागि बन्द छ ।
तिथि अनुसार अगामि वैशाख २० गते जानकी नवमी रहेकाले यस वर्ष सो दिनसम्म प्रत्येक साँझ जनकपुरवासीले आ–आफ्नो घरबाटै माता जानकीको आरती गर्न श्री जानकी मन्दिरका सहायकी महन्थ रामरोशन दासले आग्रह गरेका छन् । साथै मन्दिरमा समेत आज देखि गर्भगृहमा कलश स्थापन गरी जन्मोत्सव विशेष पूजा सुरु गरिएको छ ।
समान्य अवस्थामा जानकी नवमीको अवसरमा रंगिचंगी बिजुलीबत्ती र मनमोहक फूलहरुले मन्दिरलाई झकिझकाउ पारिन्थ्यो । बिहान र साँझ मिथिलानी तथा सर्वसधारणहरुको हुुने यहाँ देश विदेशका साधुसन्तको आगमनले मन्दिर भरिभराउ हुन्थ्यो । मन्दिरमा सोहर (जन्मोत्सवमा गाउने गीत) गाइन्थ्यो, तर यस वर्ष भने जानकी मन्दिर सुनसान छ । जानकी नवमीको ९ दिन अगाडिदेखिनै माता सीताको माइत जनकपुरधाममा वहाँको जन्मोत्सव मनाउने गरिन्छ ।
यस वर्ष पनि शुक्रबारदेखि महोत्सवको सुभारम्भ भएको हो । तर, अन्य वर्षजस्तो नत श्रद्धालुको भीड छ नत विभिन्न सांस्कृतिक कार्यक्रम वा प्रवचन नै । यो महामारीको बेला सरकारले लागू गरेको लकडाउन पालना गर्नु नै पहिलो धर्म रहेको भन्दै मन्दिर महन्थले जानकी जन्मोत्सव शुक्रबार सुरु भएको भन्दै सबै हिन्दु धर्मावलम्वी तथा श्रद्धालुलाई घरबाटै यो उत्सव मनाउन आग्रह गरेका छन् ।
जानकी माता जनकपुरधामका हरेक घरमा बास गर्नु हुन्छ भन्दै सहायक महन्थ दासले बाध्यात्मक परिस्थितीका कारण घरमै बसी जन्मोत्सवको यो ९ दिनलाई विशेष मनाउन आरती र पूजापाठ गर्न सबैमा अपिल गरेका छन् ।