एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा रहेको लोकतन्त्र रक्षाका लागि साहित्यले निरन्तर पहलकदमी लिई राख्नु पर्ने बताएका छन् ।
जनकपुरधाममा बिहिबारदेखि शुरु भएको ३ दिवसीय जनकपुर साहित्य महोत्सवको पहिलो दिन प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व राष्ट्रपति यादवले लोकतन्त्र रक्षाका लागि साहित्यले पहलकदमी लिनुपर्ने बताए । ८ दशक लामो संघर्षपछि ल्याइएको अहिलेको संविधानमाथीको खतरा नटरेको भन्दै संचारकर्मी, साहित्यकार तथा अभियानीहरुले यसको रक्षाका लागि निरन्तर आवाज उठाई रह्नु पर्ने बताए ।
संविधानमाथी प्रहार गर्ने निरन्तर कुचेष्टा भईरहेको छ, पूर्व राष्ट्रपति यादवले भने ‘अमेरिकामा रहेको २ सय ४० वर्ष पुरानो लोकतन्त्रमाथीको कालो बादल अहिलेसम्म लागेको छैन, हामीले लामो संघर्षपछि ल्याएको संघिय गणतन्त्रात्मक व्यवस्था सहितको लोकतन्त्र र संविधानमाथी आक्रमण भईरहेको छ त्यसको रक्षाका लागि तेस्रो पुस्तालाई समेत तयार पार्ने काम गर्नु पर्छ ।’
पछिल्लो समय संविधानको घाँटी निमोठ्ने काम हुँदा नेपाली जनताले आवाज उठाएकै कारण संविधानको रक्षा भएको पूर्व राष्ट्रपति यादवको भनाई थियो ।
उनले साहित्यमाथी चर्चा भईरहँदा यहाँको भाषा तथा संस्कृतिको रक्षाका लागि मात्रै नभई जनकपुरधामको पहिचान रहेको मठ मन्दिर तथा पोखरी संरक्षणका लागि समेत आवाज उठाउनु पर्नेमा जोड दिए ।
साहित्य महोत्सवको प्रमुख अतिथिको आसनबाट पूर्व राष्ट्रपति यादव बोल्दै गर्दा पर्यावरण र जनकपुरधामको खस्कदै गईरहेको शिक्षा अवस्थाप्रति चिन्ता व्यक्त गरे । उनले भने ‘कुनै समय ज्ञानभूमिको रुपमा परिचित रहेको जनकपुरधामको पावनभूमि अहिले ज्ञानको ज्योतीबाट टाढा हुँदै गईरहेको देख्दा बडो दुःख लाग्छ ।’ यस्ता साहित्यिक महोत्सवकै माध्यमले यहाँका तेस्रो पुस्तामा ज्ञानको ज्योती फैलाउन उनले आग्रह गरे ।
‘अहिले चुरेको अनियन्त्रित दोहन भइरहेको छ । चुरिया भएर राजमार्ग बनिरहेको छ । माटो दोहन भइरहेको छ ।’ उनले भने ‘ यसलाई कसले बचाउने ? यो देशमा भएका तिनै तहको सरकारको जिम्मेवारी होइन र ?’ यस्तै स्थिति रहि रह्यो भने हिमालको कवचको रुपमा रहेको मधेश मरुभूमिमा परिणत हुन्छ । त्यसैले चुरे संरक्षणका लागि समेत पहल गर्नु आवश्यक छ ।’