एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ११ :
चुरे तथा वन जङ्गल संरक्षण अभियानीहरूले विभिन्न ५ बुँदे माग राख्दै बिहिबारदेखि अनिश्चितकालिन धर्ना शुरु गरेका छन् ।
हजारौँको संख्यामा उपस्थित भएर बिहिबारदेखि चुरे अभियानीहरुले अनिश्चितकालिन धर्ना शुरु गरेको चुरे तथा वन जङ्गल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए ।
धर्ना शुुरु गर्नु अघि हजारौको संख्यामा अभियानीहरुले मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय तथा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका थिए । हजारौंको संख्यामा सहभागी भई स्थानीय भुतही पोखरीबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रदर्शन गर्दै राराब क्याम्पसको पूर्वपट्टी चौरमा धर्ना शुरु गरिएको यादवले बताए ।
संयोजक रायले चुरे तथा वन जङ्गल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच भएको ७ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउन र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।
उनले भूमिहीन तथा सुकुम्वासीको आवासको हक मौलिक हकको रूपमा धारा ३७ मा व्यवस्था भएकोले राज्यले गम्भीरताका साथ संविधानको कार्यान्वयनमा तदारुकता देखाउनुपर्ने आफूहरूको माग रहेको बताए ।
संयोजक यादवले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधान गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनुपर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तर्गत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिका प्रमुखहरू चक्रीय प्रणालीमा व्यवस्था गर्नका लागि संघ सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने पनि हाम्रो माग रहेको बताए ।
उनले आफूहरूको मागप्रति संघ, प्रदेश र स्थानीय तह तथा सम्बन्धित निकाय सजग नभएकोले बाध्य भएर फेरि आन्दोलनमा उतरिएको जानकारी दिए । उनले संघीय निजामती सेवा ऐन, नागरिकता ऐन संशोधन गर्न नसक्दा अनेकन समस्याहरू निम्तिएको, अवैध क्रसर उद्योग मार्फत नीतिगत रुपमै ढुंगा, बालुवा निकासीका लागि मापदण्ड बिना नै अनुमति प्रदान गर्ने काम नरोकिनु चिन्ताको विषय रहेको जिकिर गरे ।
उनले आफूहरूको माग पुरा गराउन आगामी दिनमा पनि शान्तिपूर्ण रूपमा धर्ना, दबाब सिर्जना गर्न एक घण्टे चक्का जाम, ग्रास रुट मुभमेन्टको रूपमा गाउँ गाउँमा अभियान लगायत थप सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गर्ने जानकारी दिए ।