एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ९ : राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश समितिको विस्तारित बैठक सुरु भएको छ । मंगलबार जनकपुरधाममा सुरु भएको बैठकमा पार्टीका केन्द्रीय उपसभापति डीपी अर्यालले नयाँ सोच र भिजनका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको भन्दै अब भाषण देश नबन्ने बताउनुभयो । उहाँले जनताका लागि काम गर्न हामीले सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।
बैठकमा सांसद तथा रास्त्रपाका केन्द्रीय सदस्य मनिष झाले पार्टीले सिंहदरबार प्रवेश गर्न हतार गर्न नहुने भन्दै संगठन बनाउने कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । त्यस्तै, पूर्वराज्यमन्त्री डाक्टर तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै भ्रातृ संगठन नबनाउने जानकारी दिनुभयो । उहाँले पार्टीले केन्द्र तथा प्रदेशहरूमा विभागहरू बनाउने भए पनि भ्रातृ संगठन नबनाउने बताउनुभयो ।
बैठकमा पार्टीको मधेश प्रदेश समितिका पूर्वसभापति ममता शर्मा, महामन्त्री डा. मुकुन्द ढकाल, सहमहामन्त्री तथा संगठन बिभागीय प्रमुख कबिन्द्र बुर्लाकोटी, नेता गणेश पराजुली, अरनिको पाण्डे, निसा मेहता, डाक्टर चन्दा कार्कीलगायत प्रदेशका नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।