एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ७ : मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना सबैभन्दा बढी मधेश प्रदेशमा भएको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सोमबार जनकपुरधाममा सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सातवटै प्रदेशमध्ये सबैभन्दा बढी मानव अधिकार उल्लंघनका घटना मधेश प्रदेशमा भएको तथ्यांक समेटिएको छ । सन् २०२२ मा मधेश प्रदेशमा मानव अधिकार उल्लघन तथा ज्यादतीका घटनामा ६ सय ६८ जना पीडित भए ।
सन् २०२१ मा ७ सय ५८ जना पीडित भएका थिए । सन् २०२२ मा राज्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन घटनामा ४१ जना र अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ६ सय २७ जना पीडित भए । मधेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतकीका घटनामा सबैभन्दा बढी व्यक्तिको हत्या भएको पुस्तकमा उल्लेख छ । कार्यक्रममा इन्सेक मधेश प्रदेशका अध्यक्ष राजु पासवानले महिला र बालिका बढी पीडित हुने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले तथ्यांकहरू सही ढंगले संकलन गरी इन्सेकको प्रतिवेदनलाई थप विश्वसनीय बनाउनुपर्ने बताउनुभयो । सन् २०२२ मा परिवारजनबाटै सप्तरीमा ३, सिरहामा ४, धनुषामा ५, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २, बारामा ३ र पर्सामा २ गरी २४ महिलाको हत्या भएको छ ।
त्यस्तै, दाइजोका कारण महोत्तरीमा एक र रौतहटमा एक गरी दुई महिलाको यस अवधिमा हत्या भएको छ । सन् २०२२ मा बलात्कार घटनामा २ सय २९ जना पीडित भएको इन्सेकले जनाएको छ । त्यसैगरी, यसअवधिमा कुटपिटका घटनामा राज्य पक्षबाट १ पुरुष, यातनाका घटनामा १ महिला, घाइतेमा ९ पुरुष, नागरिक तथा राजनीतिक अधिकारमा २५ पुरुष र धम्कीका घटनामा एक जना पुरुष पीडित भएका छन् । अमानवीय व्यवहारका घटनामा अन्य पक्षबाट १, अपहरण घटनामा ११ महिला र ४ पुरुष, घाइतेमा ४ महिला र १९ पुरुष, जातीय छुवाछुतका घटनामा १ महिला र १ पुरुष पीडित भए ।
सन् २०२२ मा अभिलेखित घटना अनुसार बालअधिकारका घटनामा १ सय ९६ बालिका र १४ बालक पीडित भएका छन् । जसमध्ये बाल विवाह घटनामा २, बालिका बेचविखनमा शारिरीक दण्ड सजायमा १ बालिका, नवजात शिशुको हत्या १ बालक, बलात्कार घटनामा १ सय ६२, यौन दुव्र्यवहार घटनामा २७ बालिका र ४ जना बालक पीडित भए । सन् २०२२ मा महिला अधिकारका घटनामा २ सय १० जना पीडित भए ।
जसमध्ये महिला बेचविखन प्रयासका घटनामा १, घरेलु हिंसाका घटनामा २०, बोक्सीको आरोपमा १२, बहुविवाह घटनामा ७७, बलात्कार घटनामा ६७, बलात्कार प्रयास घटनामा २७, यौन दुव्र्यवहार घटनामा ४ र महिला बेचविखन घटनामा २ जना पीडित भएका छन् । कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास लगायत सहभागी भएका थिए ।