पुरन रौनियार
जनकपुरधाम, फागुन ३ : राष्ट्रिय खेलकुद परिषदले गुठी संस्थानसंग जनकपुरधामको वडा नं. १४ रजौल स्थित लक्ष्मण जिराइतको १७ बिघ्घा जग्गा लिजमा लिएर धनुष आकारको ‘श्री रामजानकी बहुउद्देशीय अन्तराष्ट्रिय रंगशाला’ निर्माणका लागि वार्षिक ९ लाख रुपैया तिरिरहेको छ । डेढ दशक पहिला देखि निर्माणका लागि अभियानै सुरु भएपनि रंगशाला सपना जस्तै बनेको छ ।

क्रिकेट, भलिबल र कब्बडीमा जनकपुरधामको आफनै विरासत छ । प्रस्तुत तस्वीर जनकपुरधामको वडा नं. १४ रजौल स्थित प्रस्तावित श्री रामजानकी बहुउद्देश्य अन्तराष्ट्रिय खेल मैदानको हो जो यहाँको युवा र खेलप्रेमीहरुका लागि सपना जस्तै हो । नेपाल सरकारको सम्बन्धित निकायबाट देशकै पहिलो अन्तराष्ट्रिय स्तरको रंगशालाको रुपमा मान्यता सहित निर्माणको अनुमती पाएको यो रंगशालाको अहिले सम्म निर्माणको कुनै ठोस कदम अगाडि बढेको छैन ।
जवकि पोखरामा रंगशाला बनेर तयार भइसकेको छ भने सुर्खेतमा डिपिआरका लागि सरकारले पाँच करोड बजेट समेत छुट्याइसकेको रंगशाला निर्माण अभियानका अगुवा दिनेश पुर्वेको भनाई छ । राष्ट्रिय खेलकुद परिषदले जनकपुरधामको वडा नं. १४ रजौल स्थित लक्ष्मण जिराइतको १७ बिघ्घा जग्गामा राष्ट्रको पहिचान तथा गौरव इन्टरनेशनल हब संसारकै आकर्षणको केन्द्र धनुष आकारको रंगशाला ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ उत्कृष्ट रंगशाला निर्माणका लागि वातावरण बनाउने उद्घोष गरिसकेको छ ।
२०७४ साल मसिंर ३ गते राष्ट्रिय खेलकुद परिषद, सातोदोबाटोको कार्यालयमा खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पत्रकार सम्मेलन गरि निर्णय सार्वजनिक गरेका थिए । रंगशालाको लागि जनकपुर उप–महानगरपालिका, वडा नम्वर १४ स्थित १७ विग्घा जग्गा नेपाल गुठी संस्थानले उपलब्ध गराएका छन् । नेपाल गुठी संस्थान प्रधान कार्यालयको कार्यकारी प्रमुख नारायण चौधरी र राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव केशव विष्ट बीच लिखित सम्झौता भए अनुसार गुठी संस्थानले वार्षिक ९ लाखको भाडामा ३० वर्षकोलागि राष्ट्रिय खेलकुद परिषद्लाई ‘श्री रामजानकी बहुउद्देशीय रंगशाला’ को लागि उपलब्ध गराएका छन् ।

बुधवार मधेश सरकारका सभामुख रामचन्द्र मण्डल, मधेश सरकारका महिला, बालवालिका युवा तथा खेलकुद मन्त्री मोहम्मद जयद आलमले निरिक्षण अवलोकन गरेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख जनकपुरधाम राजधानी समेत भइसकेकाले यस्ता महत्वकांक्षी आयोजनामा तिनै तहको सरकारको समन्वय र सहकार्य आवश्यक रहेको बताउदै उपमहानगरपालिका कुनै पनि सहयोग गर्न पछि नहटने बताए ।
रंगशाला प्रचार प्रसारका लागि तत्काल मधेश सरकारको खेलकुद मन्त्रालयको २० लाखको सहयोगमा घेराबेराका लागि तारवारको काम गरि उपमहानगरको २० लाख सहयोगमा क्रिकेट पिचको निर्माण भइरहेको छ । मेयरकप, महेन्द्र नारायण निधी स्मृती कप सहितको खेल छिट्टै गरेर रंगशाला बचाउने र प्रचार गर्ने अभियान थाल्ने युवाहरु बताउछन् ।
रंगशाला निर्माणमा डेढ दशक देखि तिनै तहको सरकार सम्म धाईरहेका अभियानी दिनेश पुर्वेले २०६६ सालमा खेलकुद मन्त्री गणेश नेपालीलाई आफु प्रपोजल दिदाँ उनले जनकपुरधामको बदला आफनो क्षेत्र महोतरीको जलेश्वरमा सोहि प्रस्तावका लागि पाँच करोड विनियोजन गरिदिएको र गत मधेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले फर्जी मन्त्री परिषदको बैठक गरि जनकपुरधामको रंगशाला आफनो जिल्ला पर्साको बिरगंजमा सार्ने षडयन्त्र गरेको प्रमाण आफुसंग रहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा सो रंगशाला बनेको खण्डमा पर्यटन विकास, आर्थिक उन्नती, खेलकुदको विकास र जनकपुरधामको क्रिकेट, कब्बडी र भलिबल खेलमा रहेको विरासत फर्किने युवा तथा खेलप्रेमीहरुको भनाई छ । सभामुख सहितको टोलीबाट बुधवार भएको अवलोकन र निर्देशन सकारात्मक रहेको भन्दै युवाहरु आशा जागेको बताएका छन् ।