एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १ : जनकपुरधाम उपमहानगरपालिकाले वडा नं. ८ स्थित दशरथ मन्दिरको दक्षिण छेउमा बनाउने भनिएको पार्किङ्ग स्थलको जग्गा विद्यालयको रहेको दावी गरिएको छ । गत शुक्रवार उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष सहित दलबलका साथ शिलान्यास गरिएको पार्किङ्ग जोनको जग्गा विद्यालयको सम्पती रहेको वडावासीहरुको दावी छ ।
सो जग्गा बचाउनका लागि भन्दै उपमहानगरपालिकाको वडा नं. ६, ७ र ८ का वडावासीहरु एक भएका छन् । स्थानिय राष्ट्रिय प्राथमिक विद्यालयको जग्गा अतिक्रमण गरि उपमहानगरपालिकाका मेयर मनोज साह र उपमेयर किशोरी साहद्वारा सवारी साधन पार्किङ स्थलको रुपमा शिलान्यास गरेकोमा उनीहरुले आपती जनाएका छन् ।
नक्सामा विद्यालयको आधा भाग अतिक्रमण भएको देखिन आएकाले भोलिको दिनमा स्कुलकै भाविष्य स्वत: समाप्त हुने भन्दै उनीहरु वडा नं. ६, ७, ८ का सम्पुर्ण जनताहरु एक हुनुपर्ने बताएका छन् । विद्यालयको प्राङ्गणमा उपस्थिति भएका उनीहरु विद्यालय बचाउ संर्घष समिति गठन गरि आन्दोलन गर्ने तयारी गरेका छन् ।