पुरन रौनियार
जनकपुरधाम, बैशाख ११ : अनुगमणको विषयलाई लिएर प्रदेशसभा सचिवालयको विशेष समिति र संसदिय समिति बिच विवाद भएसंगै अलग अलग काम भइरहेको छ । सभामुख र उपसभामुखको पहलमा सवैदलका सचेतक र शिर्षनेताहरुको सहभागितामा बनेको विशेष समिति प्रदेश २ को अस्पतालहरुको अनुगमन गरिरहँदा संसदिय समिति समेत धमाधम अस्पतालहरुको निरिक्षण अवलोकन गर्न थालेका छन् ।
संसदिय समिति हुदा हुदै कोरोना महामारीका वेला सभामुख र उपसभामुखले विशेष समिति बनाएर प्रदेशका अस्पतालहरुको निरिक्षण र अवलोकन गर्न लगाएपछि महिला वालवालिका तथा समाजिक न्याय समितिमा आवद्व १४ जना सांसदहरु आपती जनाउदै आफै अनुगमनमा उत्रिएका छन् । समितिका सभापति राजपा सांसद जयनुल राइनको अगुवाईमा बुधवार सप्तरीको विभिन्न अस्पताल तथा विहिवार पर्सा र बाराको अस्पतालहरुमा अवलोकन गरिएको छ । बुधवार अवलोकन गरिएको अस्पतालहरुमा देखिएको कमी कमजोरी र आवयश्कता तथा सुधारको विषयमा विहिवार सरकारलाई आवश्यक निर्देशन दिइएको छ । निर्देशनमा सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा यथासिघ्र पिसिआर मेशिन उपलब्ध गराउन सहितका निर्देशन दिइएको छ ।
यस्तो छ समितिले सरकारलाई बुधवार दिएको निर्देशन
साथै विहिवार पर्साको बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पताल र बाराको कलैया स्थित अस्पतालको निरिक्षण र अवलोकन गरिएको तथा त्यस अस्पतालहरुमा देखिएको अभाव र कमीकमजोरी तथा आवयश्कताको विषयमा शुक्रवार सरकारलाई आवयश्क निर्देशन दिइने महिला वालवालिका तथा समाजिक न्याय समितिका सभापति जयनुल राइनले बताए ।
संसदिय समितिले महामारीका वेला अनावयश्क रुपमा अनुगमणको नाँउमा भ्रष्टाचार गर्न सभामुखले विशेष समिति बनाएको भन्दै आफै अनुगमन थालेको हो । अनुगमणमा सांसद सारदा थापा, मञ्जु यादव, सरस्वती चौधरी, करिमा बेगम सहित समितिका सदस्यहरु र जिल्लाहरुमा रहेका सांसदहरुलाई समेत सहभागि गराउने गरेको सभापति राइनले बताए ।
संसदिय समितिले विशेष समिति असंवैधानिक रहेको र महामारीको मौका छापेर भ्रष्टाचार गर्न सभामुख सहित केहि दलका नेताहरुको नियोजित समिति रहेको आरोप लगाएका छन । सभामुखले समाजवादी पार्टीका सचेतक शैलेन्द्र यादवको सयोजकत्वमा बनाएको कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन सर्बदलिय संसदीय समिती पनि प्रदेशका विभिन्न स्थानमा पुगेर प्रदेशका अस्पतालहरुमा स्थलगत अनुगमन गरिहेको छ । समितिका सद्स्यहरुमा राजपाका सचेतक परमेश्वर साह, कांग्रेसका संसदिय दलका नेता राम सरोज यादव, नेकपाका रामचन्द्र मण्डल र सचिबालयका रञ्जित यावद तथा कर्मचारी डा.अजय मिश्रा छन् । यद्यपि यस विशेष समितिका संयोजक यादवले आफुहरु कुनैपनि आर्थिक गतिविधी नगर्ने बताइरहेको छ ।