एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ : जनकपुरधामको एतिहाँसिक बाह्रबिघ्घा रंगभुमी मैदानमा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । हरिज स्पोर्टस् जोनको आयोजनामा मंगलबार देखि अण्डर–१६ क्रिकेट प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेल जनकपुरधामको मोनाष्टिक सेकेण्ड्री इंगलिश बोर्डिङ्ग स्कुल र सिदार्थ शिशु सदन मावि बीच भइरहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रुपमा खेलको समुदघाटन गरेका थिए । खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपप्रमुख साहले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकट संघलाई सुझाब पनि दिएका छन् ।
‘पहिला खेलसँग लगाब थियो । दैनिक खल्थे पनि, विगत सम्झिदै उनले भने, ‘अव खेलमा लगानी गर्ने हैसियतमा छु, खाका लिएर आउनोस सक्दो सहयोग गर्छौं ।’ कार्यक्रममा अन्य वक्ताहरुले खेल मैदानको अभाव बारे गुनासो गरेका थिए । धनुषा क्रिकेट संघका अध्यक्ष गुडडु पाण्डेले मैदानको अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए ।
जनकपुरधाममा क्रिकेटका नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १२ वटा विद्यालयको टिम सहभागिता जनाइरहेका छन् । तीन समुहमा विभाजन गरी लिग प्रणालीमा क्रिकेट प्रतियोगिता भइरहेको छ । प्रतियोगिता सम्पन्न भएपछि प्रतिभावान खेलाडीहरुको समुह बनाएर नियमित प्रशिक्षण दिइने आयोजकको तयारी छ । कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, पुर्व खेलाडी तथा प्रशिक्षक विरेन्द्र कर्ण सहितकको उपस्थिती थियो ।