अजय कुमार झा
काठमाण्डौं, माघ १६ : शहीदको नामले त्यस्ता व्यक्तित्व चिनिन्छन्, जसले सहादत दिएका हुन्छन् । सहादत भनेको आत्म बलिदान हो । वीरगति प्राप्त गर्नु हो । जन्म र मृत्यु, एकै सिक्का (जीवन) का दुई पाटा हुन् । जन्म जीवनको आरम्भ हो भने मृत्यु जीवनको अन्त्य । जन्म र मृत्युबीचको अवधि नै जीवन हो । मृत्यु प्राप्त गरेका प्राणीको पुनर्जन्म हुन्छ कि हुँदैन भन्ने विषयमा बहस हुनसक्छ तर जन्म लिएका प्राणीको मृत्यु अवश्यम्भावी छ । मृत्यु रोकेर रोकिंदैन ।
कसैको पनि मृत्युको तिथि निश्चित हुँदैन । समयको दृष्टिले मृत्युलाई ‘कालगति’ र ‘अकाल मृत्यु’ गरी दुई अर्थमा हेरिन्छ । सामान्य रूपमा उमेर बिताएर मृत्यु प्राप्त गरेमा कालगति प्राप्त गरेको बुझिने गरेको हुन्छ भने असमयको मृत्युलाई अकाल मृत्यु भनिन्छ । अकाल मृत्युको अनेक कारण हुनसक्छ– रोग, भोक, दुर्घटना, हत्या, आत्महत्या आदि । बलिदान वा आत्मोत्सर्ग त्यस्तो मृत्यु हो, जो हत्याको कारणले हुने भए पनि सहादत प्राप्त गरेको भनिन्छ र समाजले सहादतको सदैव नमन गर्दछ ।
साधारण अर्थमा भन्दा धार्मिक आस्था, राजनीतिक अधिकार, क्षेत्रीय, जातीय अस्तित्व वा सामाजिक अस्मिताको रक्षा निम्ति आहुत आन्दोलन, क्रान्ति वा युद्धहरूमा संघर्ष गर्दागर्दै आफ्नो जीवनको आहुति दिन पुग्छ । सैन्य क्षेत्रमा दुश्मन वा दुश्मन सेनाद्वारा जवानको मृत्युलाई वीरगतिको संज्ञा दिए झैं संघर्षको मैदानमा वीरतापूर्वक शत्रु राष्ट्र वा आफ्नै राष्ट्र«का सेना, प्रहरीका साथ संघर्ष गर्दै शहीद हुने वीरद्वारा प्राप्त गरिने सर्वोत्तम गति नै सहादत हो ।
नेपालमा हरेक वर्ष माघ महिनाकोे दोस्रो–तेस्रो सप्ताहको सात दिन (१०–१६) शहीद सप्ताहको रूपमा मनाइन्छ । कुनै पनि राष्ट्रमा त्यस राष्ट्रले राष्ट्रिय जीवनको ५२ सप्ताहमध्ये एक सिंगै एक सप्ताह शहीदको नाममा समर्पित गर्दछ भने त्यस राष्ट्रको आत्मामा शहीदहरूको कस्तो स्थान छ, त्यो कुरा सहजै बुझ्न सकिन्छ । तर यस राष्ट्रको त्यो एक पाटो मात्र हो, अर्को पाटो भने त्यस्तो छैन । आदर्श र आचरणको बीचमा अन्तर छ । शहीदप्रति यहाँ राजनीतिक एवं पूर्वाग्रही दृष्टि पनि राखिन्छ ।
लखन थापा मगर नेपालका पहिलो शहीद हुन् । उनलाई ११ फागुन २०५६ मा नेपाल सरकारले नेपालको प्रथम शहीदको सम्मान प्रदान गरेको थियो । राणाशासन विरुद्ध विद्रोह गरेका उनलाई १९३३ सालमा गोरखाको मनकामना मन्दिर परिसरमा रूखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । हुनत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको प्रथम शहीद बाँकावीर हुन् भनेका थिए । उनीपछि मात्र लखन थापा र योगमायाहरूले विद्रोह गरेको उनको भनाइ थियो ।
शहीद सप्ताहको अन्तिम दिन माघ १६ लाई शहीद दिवस भनिन्छ । नेपालमा शहीद दिवस भन्नाले राणा शासन विरुद्ध लडेका शहीदहरूको सम्झना गर्ने बुझिन्छ । यस दिन धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित अन्य अज्ञात शहीदहरूको पनि सम्झना गरिन्छ । कालान्तरमा देशवासीले गरेका आन्दोलनहरूमा सहादत प्राप्त गर्नेहरूको संख्या हजारौंमा पुग्यो । शहीद दिवस उनीहरूको पनि स्मरण गर्ने दिन हो भनेर बोध हुनुपर्नेमा केही कसर बाँकी नै छ ।
मधेश आन्दोलन २०६३ का शहीदको संस्मरणमा माघ ५ गते मधेशले बलिदान दिवस मनाउँदै आएको छ । मधेश सरकारको गठनपश्चात् माघ ५ को दिन सार्वजनिक अवकाश रहने गरेको छ । यस वर्ष, माघ ५ का दिन प्रतिनिधिसभामा जनमत पार्टीका अध्यक्ष सांसद डा. सिके राउतले मधेश आन्दोलनका शहीदको सम्मानमा एक मिनेट मौन धारण गर्न आग्रह गर्दा सभाले ऐक्यबद्धता प्रदर्शन गर्न सकेको देखिएन । ऐक्यबद्धताको त्यस अभावलाई शहीदप्रतिको विभेद नै बुझिन्छ ।
वर्तमान संविधानले आफ्नो प्रस्तावनाको पहिलो अनुच्छेद समस्त शहीदहरूप्रति अर्पित गरेको छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीद तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मानपश्चात् संविधानका ध्येय र व्यवस्थाहरू उल्लेख भइरहेको अवस्थामा संसदका सदस्यहरूले मनन गर्न नसक्नु सच्चिनुपर्ने विषय हो ।
शहीदप्रति हामी भावपूर्ण रूपमा श्रद्धासुमन अर्पित गर्ने गर्दछौं । श्रद्धाञ्जली जीवनको भावनात्मक पक्ष हो । फूलको माला लिएर वा नलिएर, शब्द र अक्षरमा भए पनि वा नभए पनि हुन्छ तर श्रद्धा हृदयमा, भावमा, मनमा भएन भने हुँदैन । आदर्शका कुराहरू आचरणमा देखिएन भने हुँदैन । सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने संविधानको प्रस्तावनाको साकार रूप देखिनुको एक उदाहरण शहीद पनि हुनुपर्छ ।
बडापत्र, संविधान, कानुन, राज्य, समाज, लिंग, मानवता आदि सबैका आधारमा विभेद र सकारात्मक विभेदका सूचीहरू सर्वस्वीकृत छन् । हट्नुपर्ने विभेदका कुराहरू शहीदप्रतिको विभेद पनि हो । सबै देशवासी सम्पूर्ण शहीदहरूप्रति श्रद्धावान नभएसम्म शहीदहरूप्रतिको विभेद कायमै रहन्छ । परिवर्तनका लागि पटक–पटक भएका आन्दोलनका समस्त शहीदहरूको सम्मानमा सबै नेपाली एकै पंक्तिमा उभिएको नदेखिएको अवस्था अहिले मात्रको होइन, पहिल्यैको हो ।
शहीद हुनुको परिभाषा र तर्कमा उल्झिनु पुरानो कुरा हो । वर्तमान समय परिवर्तनको हो । संवैधानिक प्रस्तावनामा उल्लिखित राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भन्नेमा उल्लेखित परिवर्तन भन्ने शब्दको अनुभूति कसरी प्राप्त गर्ने र आन्दोलन, सशस्त्र संघर्षको अर्थ कसरी गर्ने अनि त्याग र बलिदानलाई कसरी महसुस गर्ने भन्ने जस्ता कुरा अझै पनि देशवासीमा कायम हुनसकेको छैन । खासगरी मधेशी शहीद, चाहे जुनसुकै राजनीतिक विचारका हुन्, सबैप्रति विभेद भएको छ ।
मधेशका मसिहा भनिएका रघुनाथ ठाकुरको मृत्युमाथि रहस्यको परत मधेश आन्दोलनको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदनमाथिको उघ्रिन नसकेको परत जस्तै छ । शाकेत चन्द्र मिश्र बेपत्ता हो कि शहीद अझै जनताले बुझ्न सकेका छैनन् । मधेश सरोकारका भूमिगत, खुला, सशस्त्र वा अहिंस्रक, साम्प्रदायिक, संघर्षका अतिरिक्त राणा वा राजाको शासनको खिलाफ आन्दोलन गर्ने दुर्गानन्द झा, दिलीप चौधरी, शाकेतचन्द्र मिश्र जस्ता कांग्रेस, जनवादी विचार बोकेका मधेशी शहीद पनि उपेक्षित रहेका छन् ।
शहीद दुर्गानन्द झा मधेश प्रदेशको राजधानी जनकपुरधामका हुन् । राजा महेन्द्रको कदम (२०१७) को विरोधस्वरूप राजामाथि नै बम प्रहार गरेको कसूरमा उनलाई शहीद दिवसको अघिल्लो दिन अर्थात् माघ १५ गते (वि.सं. २०२०) काठमाडौंको केन्द्रीय कारागारमा पञ्चायत सरकारले मध्यराति मृत्युदण्ड दिएको थियो । ९ माघ २०१८ मा जनकपुर भ्रमणमा रहेका बेला राजा महेन्द्रउपर उनले बम प्रहार गरेका थिए । एक विशेष अदालतले उनको कसूरको ट्रायल गरेको थियो ।
दुर्गानन्द झा ब्राह्मण हुँदा पनि मृत्युदण्ड दिइएको थियो । त्यसअघि ब्राह्मण बाहेकका जातिलाई मात्र फाँसी दिने र ब्राह्मणलाई सर्वस्वसम्म गर्ने भन्ने कानुन थियो । कानुनमा तत्कालै संशोधन गरेर फाँसी सुनाइएको थियो । बम प्रहारको आरोप ५९ जनामाथि थियो । आरोपीहरू बम प्रहारलगत्तै भारत छिरेका थिए । भारतको जयनगरबाट नेपाल फर्कंदै उनले गिरफ्तारी दिएका थिए । केन्द्रीय कारागारमा थुनेर राखिएका झाका साथ अरविन्द ठाकुर पनि सोही मुद्दामा थिए । ठाकुरले सफाइ पाए ।
राजाको जनकपुरधामको भ्रमणका क्रममा कडा सुरक्षाका बीच बम प्रहार गरिएको थियो । बम प्रहार गरेको समय झा १९ वर्षका थिए । भनिन्छ, राजा महेन्द्रले झालाई आफूले गरेको अपराधका लागि माफी मागे ज्यान बकस दिने बताएका थिए । तर झाले माफी माग्न मानेनन् । उनले राजाको २०१७ साल पुस १ को ‘कु’ खिलाफ संघर्षमा ज्यान गुमाएका शहीदहरूको हत्याको दोष राजाले लिनुपर्ने र त्यसको लागि राजाले नै माफी माग्नुपर्ने बताएका थिए ।
वर्तमान संविधानको निर्माणपश्चात् निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटले २०७२ फागुन १९ गते दुर्गानन्द झालाई शहीद घोषणा गर्यो । त्यसको केहीपश्चात् संविधान दिवसको अवसरमा नेपाल सरकारले शहीद दुर्गानन्द झालाई महाउज्ज्वल राष्ट्रदीपको मान प्रदान गर्यो । झाका साथ मान पाउनेमा तुलसीलाल अमात्य, मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यहरू हुनुमा झाको मान अझै धेरै बढेको प्रतीत हुन्छ । आठ वर्षअघि नेपाल सरकारले शहीद दुर्गानन्द झाको संस्मरणमा रु.१० को हुलाक टिकट जारी गर्यो ।
शहीद झाको जन्म वि.सं. १९९९ वैशाख १४ गते जनकपुरको जटहीमा भएको थियो, जो नगराइन नगरपालिकाअन्तर्गत पर्दछ । उनी देवनारायण झा र सुकुमारीदेवी झाको एक्लो सन्तान थिए । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका पिता महेन्द्रनारायण निधि आफ्नो समयमा नेपाली कांग्रेसका महामन्त्री भएका थिए । यस क्षेत्रमा कांग्रेसको ठूलो प्रभाव थियो । शहीद झा पनि नेपाली कांग्रेसका सदस्य थिए । उनले जति ठूलो काण्ड मच्चाएर सहादत प्राप्त गरे, त्यसको सदुपयोग पार्टीले त्यतिबेला गरेको भए गणतन्त्र प्राप्ति यत्तिको विलम्बकारी हुने थिएन ।
सन् १९९३ मा राजा महेन्द्रको सालिक हटाई दुर्गानन्द झाको सालिक राख्न माग गरिएको थियो तर सरकारले अस्वीकार गरेको थियो । लोकतान्त्रिक शासन व्यवस्थाले झाको बलिदानको उचित कदर नभएकोमा जनभावनामा चोट पुगेको छ । समस्त शहीद समान सम्मानका पात्र हुन्, उनीहरूको मूल्यांकन घटी–बढी भन्ने हँुदैन । तर हरेक शहीदको आ–आफ्नै भूमिका छ, उनीहरूको भूमिकालाई नजरअन्दाज पनि गर्न सकिंदैन ।
शहीद झाकी पत्नी काशीदेवी झालाई तराई–मधेश लोकतान्त्रिक पार्टीले संविधानसभा सदस्यमा मनोनीत गर्यो । यसै संविधानसभाले गणतन्त्रात्मक संविधान लागू गर्यो, जसबाट नेपालमा राजाको शासन सदासदाका लागि समाप्त भयो । संविधानसभा सदस्य काशीदेवी झा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिमण्डलमा कानुन तथा न्याय राज्य मन्त्री भइन् ।
शहीद झा रहेनन् तर राज्यद्वारा शहीद पत्नी काशी झाको मन्त्री पदमा मनोनयन आफैंमा एक आश्चर्यजनक तर सुखद् घटना थियो । झामाथि ट्रायल चल्दै गर्दाको समय काशी झाले महारानी रत्नालाई भेटेर आफ्ना पतिलाई छाडिदिन बिन्ती गरेकी थिइन् । तर महारानीले स्वीकार गरिनन् ।
भनिन्छ, काशी झाले दिएको श्रापकै कारणले एक दिन राजपरिवार समाप्त भएको मात्र होइन, त्यही शहीद पत्नीको हस्ताक्षर परेको कागज राजसत्ता समाप्तिको ऐतिहासिक दस्तावेज बन्यो । काशीदेवी झा सदस्य रहेको संविधानसभाको प्रथम बैठकले राजतन्त्रलाई समाप्त पार्दै देश गणतन्त्र भएको घोषणा गरेको थियो ।
दुर्गानन्द झालाई नेपालको पहिलो गणतन्त्र शहीद मानिनुपर्छ भनेर माग हुँदै आएको छ । तर राज्यले त्यस कुरामा चासो लिएको देखिंदैन । झाले हिरासतमा रहँदा सँगै रहेका अरविन्द ठाकुरलाई भनेका थिए, ‘चिन्ता नगर ठाकुर ! अब यो देशमा गणतन्त्रको आगमनलाई कसैले रोक्न सक्दैन ।’ राजा महेन्द्रमाथि बम प्रहार गरी नेपालमा गणतान्त्रिक आन्दोलनको उद्घोष गर्दा सहादत प्राप्त गरेका प्रथम गणतान्त्रिक वीर योद्धा अमर शहीद दुर्गानन्द झाप्रति सतत: नमन ।
शहीद परिवारलाई राज्यले एकमुष्ट राहतका साथै मासिक भत्ता दिने, शहीदका सन्तानलाई विश्वविद्यालय तहसम्म अध्ययनका लागि आर्थिक सहयोग गर्ने, शहीद परिवारका सदस्यलाई वैदेशिक रोजगारीमा प्राथमिकता, सार्वजनिक यातायातमा छुट, शिक्षण संस्था र अस्पतालमा सहुलियत तथा घरजग्गा रजिस्ट्रेसनमा छुट दिने निर्णय गरेको छ ।
शहीद परिवारको भरणपोषण तथा वृत्ति–विकासमा सहायता गर्नु राज्यको धर्म हो । तर ती निर्णय लागू भएको देखिनुपर्छ । राज्यले सार्वजनिक पार्क, प्रवेशद्वार, नमूना बस्ती, विद्यालय आदि शहीदहरूलाई समर्पित गर्दै आएको छ । यस्तो नीति नयाँ सन्ततिमा राष्ट्रप्रतिको माया बढाउन उत्प्रेरक हुनसक्छ ।
साभार : अनलाइन खवरडटकम