एसपी रिपोर्टर
जनकपुरधाम, माघ १४ : तनहुँका काव्यकार महाकवि चन्द्रमणि अधिकारीले एक दिनमै जानकी काव्य लेख्न सुरु गर्नुभएको छ । जानकी आशु प्रबन्ध काब्य लेख्न अघि शनिबार जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा काव्यकार अधिकारीले आफूले एक दिनमै जानकी आशु प्रबन्ध काव्य लेख्न लागेको जानकारी दिनुभएको हो ।
उहाँले आफूले सानैदेखि काव्य लेख्न थालेको पनि जानकारी दिनुभयो । उहाँले यसअघि पनि केही काव्यहरू लेखिसक्नुभएको छ । अधिकारीले हालसम्म विभिन्न काव्यमा गरी दु लाख श्लोकसम्म लेखिसक्नुभएको छ । कार्यक्रममा साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमल एक दिनमा महाकाव्य लेख्नु अनौठो रहेको भन्दै यो कीर्तिमान कायम गर्न लागेकोमा गोरब महसुस गरेको बताउनुभयो ।
डाक्टर विमलले काव्यकार अधिकारीले जनकपुरधाममा आएर एक दिनमै जानकी आशु काव्य लेख्न लागेकोमा सम्पूर्ण जनकपुरवासीले गर्व गर्नुपर्ने बताउनुभयो । काव्यकार अधिकारीले शनिबार मध्यान्ह १२ बजेदेखि काव्य लेख्नु सुरु गर्नुभएको छ । बीच–बीचमा केही बेरको विश्राम लिएर कुल २४ घण्टामा महाकाव्य लेखिसक्ने अधिकारीको अठोट छ ।