एसपी रिपोर्टर
काठमाण्डौं बैशाख ११ :समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् । दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी नेपाल बनाउने सहमति मध्यरातमा गरेका थिए । पार्टीका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, सरतसिंह भण्डारी सहितका आयोग पुगिसकेका छन् ।
डा. यादव पार्टीको सम्पर्कमा पुगे

पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा महोतरीबाट काठमाडौं पुरयाइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । सांसद यादव पार्टीको सम्पर्कमा आइपुगेको समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले तस्वीर सार्वजानिक समेत गरि जानकारी दिएका छन् । यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् । उनी आफूलाई काठमाडौं ल्याउने मानिसहरुबाट डराइरहेका छन् । बुधबार साँझ पूर्वस्वास्थ्य राज्यमन्त्री डा. यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा अपहरण गरेको समाजवादी पार्टीले आरोप लगाएको थियो । डा. यादवलाई नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोली राति ३ बजे काठमाडौं ल्याइर्पुयाएको पाण्डेले बताए । राति काठमाडौं ल्याइएका यादवसँगै समाजवादी पार्टीका केही सांसदलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ । तर डा. यादव बिहीबार विहानै होटलबाट बाहिर निस्कन सफल भएको र पार्टीको सम्पर्कमा आएको नेताहरुले बताएका छन् ।