एसपी रिपोर्टर
जनकपुरधाम, माघ ९ : भारतमा अपहरण पछि हत्या भएका जनकपुरधाम वडा नं. १३ र ८ पिडारीका दुई मृतक युवकको परिवारले गृहमन्त्री र प्रहरी प्रशासन विरुद्व जनकपुरधाममा प्रदर्शन गरेको छ । आफुहरुले अपहरणकारीले फिरौती मागेको सम्बन्धी सम्पुर्ण जानकारी धनुषा प्रहरी लाई जानकारी गराएका पनि हत्याको घटना बाहिरए पछि आइतवार धनुषा प्रहरीले आफुहरु विरुद्व अभिव्यक्ति दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन ।
धनुषा प्रहरीले मृतक परिवारले आफुहरुलाई कल रेकर्ड र डिटेल समयमै जानकारी नगराएको सञ्चार माध्यममा अभिव्यक्ति दिएपछि उनीहरु आक्रोसित बनेका हुन । प्रहरीले समयमै ध्यान र सक्रियता देखाउन नसक्दा आफुहरुको बच्चाको अपहरणकारीले हत्या गरेको उनीहरुले आरोप लगाउदै जनकपुरधाम ढल्केवर मुख्य सडक खण्ड पिडारीचौकमा आवागमण अवरुद्व गर्दै गृहमन्त्री विरुद्व नारावाजी समेत गरेका छन् ।
मृतक दुवै युवालाई एमालेले अनेरास्वीयु आवद्व विद्यार्थी अगुवा रहेको एमालेका नेताहरु समेत प्रर्दशनमा सहभागिता जनाइरहेका छन् । उनीहरु हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान समयमै गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो । दुईसाता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए ।
त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबार सम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो । अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए । परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।
यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको जानकारी दिए । उनले अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताएका छन् । घटनापश्चात प्रहरीले घटनामा संलग्न रहेको आशंकामा भारत र नेपालका गरी ९ जनालाई पक्राउ गरेको एसपी खड्काले जानकारी दिए । पक्राउ परेकाहरु ना भने प्रहरीले अहिले गोप्य राखिएको बताए ।