एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल समाज उत्थानका लागि सबै वर्गले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्नेमा जोड दिएका छन् । नेपाल पिछडावर्ग महासंघको विशेष महाधिवेशनको प्रमुख अतिथिबाट बोल्दै सभामुख मण्डलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनका लागि सबैले थोपा थोपा गरी आफ्नो स्थानबाट योगदान दिनुपर्ने बबताए ।
उनले कतिपय वर्ग आफ्नो जीवनचर्यालाई अर्थोपार्जनसंग जोड्न नसकेकाले पछाडी पर्दै गईरहेको बताए । उनले भने ‘नेपाल आफैमा आर्थिक रुपमा पिछडिएको मुलुक हो त्यसमाथी केही वर्ग झन पछि पारिएका छन् ।’ त्यस्ता वर्गलाई समाजको मूल प्रवाहमा ल्याउनका लागि अभियान चलाउनु आजको आवश्यक्ता रहेको उनको भनाई ।
सभामुख मण्डलले सबै वर्गलाई समेट्ने गरी समाज उत्थानको दिशामा नेपाल पिछडा वर्ग महासंघ जस्ता संस्थाहरुले काम गर्न सकेत सामाजिक उन्नति हुनुका साथै देश पनि आर्थिक रुपमा सबल हुने बताए ।
यता नेपाल पिछडावर्ग महासंघ (ओबिसी)को अध्यक्ष गजेन्द्र ठाकुरलाई निलम्बन गरेर बोलाइएको विशेष महाधिवेश महेन्द्र प्रसाद साहको अध्यक्षतामा जनकपुरधाममा शुरु भएको छ । शनिबारसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व समेत चयन गरिनेछ । अध्यक्ष ठाकुरले महासंघको निर्णय विपरीत गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई निलम्बन गरेर बाध्य भएर विशेष अधिवेशन बोलाउनु परेको महासंघका केन्द्रिय अध्यक्ष साहले बताए ।
कुनै पनि राजनीतिक दलसंग आवद्ध नरहेको यो संस्थाको गरिमालाई ठेस पुग्ने गरी उनले काम गरेको साहको आरोप थियो ।
यो विशेष महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले संस्थाको गरिमालाई बचाएर काम गर्ने महासचिव बबिता पूर्वेले विश्वास व्यक्त गरिन् । उनले अबको नेतृत्व पिछडा वर्गको हकहितमा केन्द्रित भएर काम गर्ने उनको भनाई थियो ।