एसपी रिपोर्टर
जनकपुरधाम, माघ ६ : प्रतिनिधिसभामा मधेश आन्दोलनका शहीदहरूको अपमान गरिएको भन्दै नेपाली कांग्रेस मधेश प्रदेश कमिटीले आपत्ति जनाएको छ । शुक्रबार नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्णकुमार यादवले विज्ञप्ति जारी गरी माघ ५ गते बलिदानी दिवसका दिन प्रतिनिधिसभा प्रधानमन्त्री प्रचण्डसहित कैयौँ सांसदहरूले शहीदलाई अपमान गरेको भन्दै यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको हो ।
मधेश आन्दोलनका शहीदहरूको सम्मानका लागि सांसद् डाक्टर सीके राउतद्वारा गरिएको मौनधारणको अनुरोधलाई प्रधानमन्त्रीलगायतका कतिपय सांसदले अवज्ञा गर्नु दु:खद भएको पनि नेपाली कांग्रेस मधेशले ठहर गरेको छ । यो घटनावाट शासकहरू मधेशका शहीदहरूप्रति समेत वैरभाव राखेको प्रष्ट भएको विज्ञप्तिमा भनिएको छ ।
मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज यो घटना भएको भन्दै आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री दाहाल लगायत सबैलाई नेपाली कांग्रेसले ध्यानकर्षण गराएको छ । सो क्रममा एमाले, माओवादी र राप्रपा सांसदहरु मौन धारण गर्न नमानेको देखिन्छ ।