एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ : विभिन्न मधेश आन्दोलनका घाइतेहरुले मधेश सरकारको कार्यक्रम स्थल घेराउ गरेका छन् । मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहिदहरुको स्मरणमा हरेक वर्षको माघ ५ गतेलाई बलिदानी दिवसका रुपमा मनाउने क्रममा विहिवार मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालय मातहतको मधेशी शहिद प्रतिष्ठानले आयोजना गरेको वलिदानी दिवस कार्यक्रमलाई आन्दोलनका घाइतेहरुले घेराउ गरेका हुन ।
सो कार्यक्रममा ६१ जना शहिद परिवार र एकजना मात्र आन्दोलनका घाइतेलाई दुई/दुई लाख राहत वितरण भइरहेको खवर पाएपछि घाइतेहरु सो कार्यक्रम घेराउ गरेका हुन । आन्दोलनको जगमा मधेश केन्द्रितहरुले सत्ता प्राप्त गरि मधेश सरकारको नेतृत्व गरिरहेको तर आन्दोलनका घाइतेहरुलाई अवमुल्यन गर्ने गरेको आरोप उनीहरुको छ ।
उनीहरुले मधेश सरकारले मधेशी शहिद प्रतिष्ठान गठन गरि शहिद परिवारका लागि मात्र राहतका योजनाहरु ल्याएको भन्दै आन्दोलनका घाइतेहरुले समेत राहत पाउनुपर्ने मांग गरेका छन् । साथै प्रतिष्ठानको नाम मधेशी शहिद तथा घाइते प्रतिष्ठान राख्नुपर्ने समेत उनीहरुको मांग छ ।
कार्यक्रम स्थलको मुख्य गेटमै धर्ना दिएका उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा मधेश सरकारका नवनियुक्त मन्त्री संजय यादवले सम्बोधन गर्दै आन्दोलनका घाइतेहरुको यकिन गरि छिट्टै छुटेकाहरुका लागि राहतको व्यवस्थापन गर्ने प्रतिवद्वता जाहेर गरेका छन् । आन्दोलनका घाइते पिडितहरुले राहत पाउन मृत्युवरण नै गर्नुपर्ने गरि शहिदलाई मात्र नभई शहिदका साथै आन्दोलनका योद्वा घाइतेहरुलाई पनि सरकारले हेर्नुपर्ने बताए ।