एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : आइतबार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनामा परी प्रेस सेन्टर नेपालका उपाध्यक्ष, गण्डकी प्रदेश इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतको निधन भएको शोकमा जनकपुरधाममा दीप प्रज्वलन गरि श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मंगलबार जनकपुरधामको स्थानीय जनक चोकमा प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिको आयोजन तथा प्रेस सेन्टर नेपाल धनुषा शाखाको संयोजनमा दीप प्रज्वलन गरिएको हो । पत्रकार पौडेलसहित अन्य ७१ जनाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै एक मिनेटसम्म मौन धारणसमेत गरियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा थिए । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना परेका थिए । पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य थिए । पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
उनले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गरेका थिए । २०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको अध्यक्ष भएका पौडेलले त्यसअघि पत्रकार महासंघ कास्की शाखाको उपाध्यक्ष र दुई पटक सचिव भएर काम गरेका थिए । पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रिन्जरका रूपमा काम गरेका थिए । कार्यक्रममा सेन्टरका मधेश प्रदेश अध्यक्ष किरण कर्ण सहितको उपस्थिती थियो ।