एसपी रिपोर्टर
जनकपुरधाम, माघ ३ : मधेस प्रदेशका नव नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई कांग्रेसले बिश्वासको मत दिने निश्चित भएको छ । एसपी खवरसंगको कुराकानीमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले मुख्यमन्त्री यादवलाई बिश्वासको मत दिने वातावरण बनेको बताएका छन् । बिश्वासको मत दिने वातावरण बनिसकेको यद्यपि सरकारमा जाने नजाने विषय मधेश कार्यसमितिको निर्णयमा भर पर्ने उनले बताए ।
यादवकै उपस्थितीमा मंगलवार नै मधेशका मुख्यमन्त्री सरोज कुमार यादव नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालय पुगेर बिश्वासको मत दिन लिखित रुपमै मांग गर्दै कांग्रेस मधेश प्रदेशका सभापती तथा संसदिय दलका नेता कृष्ण प्रसाद यादवलाई आग्रह पत्र नै बुझाएका छन् ।
मुख्यमन्त्री यादवले आजै प्रदेशसभामा विश्वासको मत लिने तय भएको भएपनि सभामुखको चयन पक्रिया समेत आजै हुने भएकाले मुख्यमन्त्रीको बिश्वासको मत लिने कार्यसुचि अव बुधवारका लागि सर्ने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए ।
गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई लोसपाको थप ९ जना सदस्यहरुले समर्थन गरिसकेको छ ।
मधेस प्रदेशसभामा लोसपाका पनि ९ जना सांसद छन् । लोसपाले पनि सरकारलाई समर्थन गरेसँगै मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाएका हुन् । मुख्यमन्त्री यादवलाई नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादीका ७, नेपाल संघीय समाजवादी पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १, स्वतन्त्र सांसदद्वय अनिरुद्ध सिंह र सुरिता साहले समर्थन गरेका छन् ।