एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ । लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादी बीच बुधबार राति एकाएक सहमति भएको छ ।
सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ । पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ भने दोस्रो वरियातामा डा. बाबुराम भट्टराई रहेका छन् । पार्टीको चुनाव चिन्ह छाता रहने सहमती भएको छ ।
पार्टीको झन्डा यस अघि समाजवादीले प्रयोग गर्ने गरेको झन्डा कायम भएको छ । सहमतीमा राजपाको तर्फवाट महन्थ ठाकुर, राजेन्द्र महतो, सरतसिंह भण्डारी र महेन्द्र राय यादव तथा समाजवादीको तर्फवाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राय र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
बालुवाटारमा पनि बैठक
यसैबिच प्रधानमन्त्री केपि शर्मा ओली निवास बालुवाटारमा समेत राती नै छलफल भइरहेको छ । मधेशवादी दलको एकता र पार्टीवाट फुटेर आउनेहरुको विषयमा छलफल भइरहेको स्रोतले बतायो । अपहरणमा परिएको भनिएका डा. सुरेन्द्र यादवलाई समेत बालुवाटार पुरयाइएको केहि सञ्चार माध्यममा समाचार छ । आज पुर्व एआइजी सर्वेन्द्र खनाल र नेकपाका सांसद महेश बस्नेतको अगुवाईमा डा.यादवलाई अपहरणको शैलीमा काठमाण्डौं लगिएको प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।
दल फुटने सम्भावना पनि प्रवल
यस संगै राजपा र समाजवादी फुटने समेत निश्चित छ । दुवैपार्टीवाट प्रलोभन दिइएकाहरु तत्काल नयाँ पार्टी बनाउने नभए नेकपामा प्रर्वेश गर्ने सम्भावना छ । ४० प्रतिशत पुरयाएर दुवै पार्टीलाई कसरी फोडने ? भन्ने गृहकार्य समेत रातारात भइरहेको स्रोतको भनाई छ ।
फुटने भनिएका १० जना मध्ये तिनजना सांसद केहि वेरमा विज्ञप्ती निकालेर पार्टी एकताको स्वागत गर्दै एकता भएको पार्टीमै बस्ने सन्देश दिने भएका छन् ।