एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफु एक सप्ताह भित्र बिश्वासको मत र सर्वसहमतीको सरकार बनाउन प्रयास गर्ने बताएका छन् । शुक्रबार दिउँसो मधेस भवनमा प्रदेश प्रमुख हरिशंकर मिश्रसँग पद तथा गोपनियताको शपथ लिएसँगै पदभार ग्रहण गर्न कार्यालय पुगेका उनले पत्रकारहरु माझ यस्तो बताएका हुन ।
लोसपाले समर्थन गरिसक्यो, कांग्रेस र नेकपा एसलाई पनि समर्थन गर्न आग्रह गरेको छु उनले भने, ‘एक सप्ताह भित्र बिश्वासको मत साथै मन्त्रालयको टुङ्गो र सर्वसहमतीको सरकारका लागि प्रयास गर्नेछु ।’ उनले पत्रकारले सही र सफा तरिकाले लेखेको भ्रष्टाचारको समाचारमा दोषि देखिएका उपर कडा कारवाही गर्ने समेत बताए ।
सपथ ग्रहण लगतै जनकपुरधामको शहिदद्वार पुगेर शहिदहरूको शालिकमा माल्यार्पण गरेका मुख्यमन्त्री यादव त्यसपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर आजै पदभार समेत ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादवले प्रदेशको इगवर्नेन्सका लागि मास्टर प्लान तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
प्रदेशमा सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसँग जोड्ने गरि इगवर्नेन्स मास्टर प्लान तयार पार्ने निर्णय गरिएको उनले बताए । मुख्यमन्त्री यादवले प्रदेशका हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्न समेत निर्देशन दिएका हुन् ।
पहिला काम गरेर मात्र बोल्ने मान्छे परेकाले आफु के गर्ने ? भन्ने कुरा हतारमा नबोल्ने बताएका छन् । उनले आफु अहिले नै यो गर्छु त्यो गर्छु भन्दा काम गरेर आफनो प्रगती विवरण प्रस्तुत गर्ने समेत बताए । उनलाई मुख्यमन्त्री कार्यालयका सचिव कृष्णबहादुर राउतले स्वागत गर्दै पदभार ग्रहण गराए ।