एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादव शुक्रवार सपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री यादव शुक्रवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । विहान साढे ११ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको बताइएको छ ।
सपथ ग्रहण समारोहका लागि मुख्यमन्त्री निवासको अगाडिको चौरमा टेन्ट पण्डाल निर्माण भइसकेको छ । बुधवार जसपाका संसदीय दलका नेता समेत रहेका सरोजकुमार यादवलाई प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीका साथै शुक्रवार सानो आकारको मन्त्री मण्डलको गठन हुने सम्भावना छ । सत्ता गठबन्धनका दलहरु मध्ये मुख्यदलहरु एमाले, जसपा, जनमत र माओवादीबाट तत्काल एक/एकजना गरि चार मन्त्रीहरु सहित मुख्यमन्त्री यादवले सपथ लिन लागेको बताइएको छ ।
सकभर विहिवार राती सम्म मन्त्रालयको निश्कर्ष लगाउने सम्भव हुन नसके ति चार दलहरुलाई एक/एक जना सपथ लिने मन्त्रीको नाम पठाउन दलहरुलाई मुख्यमन्त्री यादवले आहवान गर्ने छ । स्रोतका अनुसार तत्काल एमाले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, नेकपा माओवादी केन्द्र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जसपा सामाजिक विकास मन्त्रालय र जनमत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने विषयमा सहमती नजिक नेताहरु पुगेका छन् ।
मधेसमा नेकपा एमाले सहित जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसद गठबन्धनमा रहेका छन् ।