एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ : मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत साहले आफनो कार्यकालमा मुख्य दुई काम प्रहरी र कर्मचारी समायोजन गर्न नसकेको बताएका छन् । मन्त्रालय छोडनु अघि विहिवार आफनो कार्यकालमा गरेका कार्यप्रगती विवरण पत्रकार सम्मेलनका बिच प्रस्तुत गर्दै मन्त्री साहले प्रहरी र कर्मचारी प्रदेश सरकार मातहत नआए सम्म प्रदेश सरकार अधिकार सम्पन्न हुन नसक्ने र काम गर्न कठिनाई हुने बताए ।
आफनो कार्यकालको कार्यप्रगती विवरण समेत सार्वजानिक गरेका मन्त्री साहले प्रहरी प्रशासनलाई स्रोत साधन सम्पन्न बनाउन मन्त्रालयको तर्फ बाट गरेको सवारीसाधन, उपकरण सहयोग देखि सञ्चार जगतका लागि गरेका कामहरुको फेरिहस्त समेत समावेश गरेका छन् ।
प्रहरीचौकीहरुका लागि बनाइएको भवन सहितका भौतीक पुर्वाधारका कामहरु, प्रदेश सरकारको मुद्रणका लागि छापाखाना, प्रदेश एफ.एम. रेडियो तथा टेलिभिजन सम्बन्धी नियमावली निर्माण समेत उनको प्रगती विवरणमा उल्लेख छ । मधेशी शहिद प्रतिष्ठानको गठन, शहिद परिवारलाई राहत समेत देखाइएको प्रगती विवरणमा मन्त्रालयबाट आर्थिक वर्ष २०७८÷०७९ मा ६२.२० प्रतिशत र चालु आर्थिक वर्षको वितेको छ महिनामा ८.९७ प्रतिशत खर्च भइसकेको समेत समावेश छ ।
मन्त्री साहले आफु पुनः सोहि मन्त्रालयमा फर्कने संकेत गर्दै प्रदेश सरकारको मन्त्रालयमा राज्यमन्त्रीको कुनै आवश्यकता नरहेको भने सुनाएका थिए ।