एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : शहिद पत्रकार उमा सिंहको १४ औं स्मृती दिवस मनाइएको छ । बुधवार नेपाल पत्रकार महासंघ धनुषा शाखाको आयोजनामा जनकपुरधामको जनकचौकमा दिप प्रज्वलन गरि शहिद उमा सिंहको स्मृती दिवस मनाइएको छ । सो अवसरमा वक्ताहरुले शहिद सिंह महिला भएर पनि एक निर्भिक, निडर र साहासिक पत्रकारिता गरिरहेकोमा नियोजित रुपमा हत्या गरिएको भन्दै दुःख व्यक्त गर्दै सिंहको स्मरण समेत गरेका छन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ धुनषाकी अध्यक्ष मनिका झा, केन्द्रिय सदस्य रिंकु मिश्र गायत्री, क्रान्तिकारी पत्रकार संगठनका मधेश अध्यक्ष पत्रकार किरण कर्ण सहितकाले आ–आफनो धारणा राखेका थिए । त्यसै गरि क्रियाशिल महिला पत्रकार समुह धनुषाले समेत श्री जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरि शहिद पत्रकार उमा सिंह प्रति श्रद्धाञ्जली अर्पण गरेको हो ।

जनकपुरधामको रेडियो टुडेमा कार्यरत पत्रकार सिंहको २०६५ पुस २७ गते जनकपुरधाम उपमहानगरपालिका १४ स्थित डेरामा खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको थियो । हत्या प्रकरणका मुख्य अभियुक्त स्वामी जी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाएको थियो ।
यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए । उमा सिंह हत्याको अभियोगमा सुशिला सिंहसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहाका श्रवणकुमार यादव, धनुषा लक्कडका नेमलाल पासवान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव लगायतविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतले ललिता सिंहलाई जन्म कैद र नेमलाल पासवानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ती दुवै जना अहिले जलेश्वर कारागारमा छन् । प्रतिवादी भनिएका श्रवणकुमार यादवलाई सफाई दिइएको थियो उनी हाल सिरहा मिर्चैयाका मेयर समेत हुन । उमाकी आमा शुशिला सिंहले केही जग्गा उमाकै नाउँ गरिदिने र बिहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको थियो ।