एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ : मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीमा निवर्तमान सभामुख जसपाका सांसद सरोज कुमार यादव नियुक्त भएका छन् । बारा निर्वाचन क्षेत्र नं. १ को ‘ख’ बाट जसपा नेपालबाट प्रत्यक्ष निर्वाचित सांसद यादव मधेश प्रदेशको दोस्रो मुख्यमन्त्री हुन सफल भएका छन् । यस अघिको पाँच वर्षिय कार्यकालमा उनी सभामुख थिए ।
२०७४ सालको निर्वाचनमा राजपाको उम्मेदवार भई सोहि निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित उनी राजेन्द्र महतोका प्रिय पात्र मानिन्थे । राजपा र संघिय समाजवादी पार्टी मिलेर जसपा बनेको र पछि जसपा फुटदा सभामुख पद बचाउन यादव जसपा तर्फ लागेका थिए ।
उनलाई मुख्यमन्त्री बनाउन राजपा छोडेर जसपा तर्फ गएका र हाल सांसदमा जितेर आएका करिव पाँचजना सांसदहरुले सहयोग गर्दा उनी दलका नेता बन्दै मुख्यमन्त्री बन्न सफल भएका हुन । करिव साढे एघार बजे आफुलाई समर्थन गर्ने एमाले, जनमत, माओवादी सहितका दलका नेता तथा सांसदहरु सहित मुख्यमन्त्रीमा दावी गर्न प्रदेश प्रमुख कार्यालय पुगेका यादवलाई केहि समयमै प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त समेत गर्दै प्रमाणपत्र प्रदान गरेका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएका यादवले सबै दललाई मिलाएर नयाँ रोडम्याप बनाएर अगाडि बढने र छिट्टै सबै दलको सहमतीमा मन्त्रालयको टुङ्गो लगाउने बताएका छन् । उनले आफुलाई तत्काल ६३ सांसदको समर्थन रहेको समेत बताए ।
मुख्यमन्त्री यादवले हाल विद्यमान रहेको १० मन्त्रालयलाई नै यथावत राख्ने बताए । मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्न गएका गठबन्धनका मुख्य घटक एमाले, जनमत पार्टी सहितका दलका नेताहरुले तत्काल ६३ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दावी गरिएको र वाँकी मन्त्रालय सहितको भागबण्टा पछि टुङ्गयाउने बताए ।