एसपी रिपोर्टर
जनकपुरधाम, पुष २३ : करिव एक सप्ताह देखि निरन्तर बढदै गएको चिसोको कारण मधेशको जनजिवन प्रभावित भएको छ । चिसोका कारण कतै मानविय क्षति भइरहेको छ भने गरिव विपन्न परिवारलाई अत्याधिक पिडा खेप्नु परिरहेको छ ।
एक सप्ताह देखि आक्रमक बनेको चिसो र शितलहर दिनानुदिन बढदै गएपछि मधेशको जनजिवन प्रभावित भएको छ । सरकारी तथ्यांकका अनुसार सप्तरी र धनुषामा एक/एक गरि दुईजनाको मृत्यु समेत भइसकेको छ । धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं.१ का मनोज यादवको चिसोका कारण मृत्यु भएको हो । सप्तरीमा तिलाठी कोइलाडी–४ मुसहर टोलका देवु सदाको मृत्यु भएको गाउँपालिका–४ क वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी गराएका छन् ।

उचित बसोबास र खानपानको अभावमा चिसोका कारण गरिव विपन्नहरुको ज्यान गइरहेको देखिन्छ । हरेक वर्ष चिसोको प्रभाव बारे राज्य जानकार रहेपनि समयमा कुनै पनि राहतको कदम नचालेको सर्वसाधारणको आक्रोस छ । सिरहाको गोलबजार नगरपालिका वडा न–१० धोबिया धारका मुनिलाल सदायको ९ सदस्सीय परिवार परालले छाएको घरमा बस्छ्न । पराल ओछयाएर सुत्नु र परालको आगो ताप्नु नै उनिहरुको जाडो छल्ने एक मात्र उपाय हो । रात काटन मुस्किल हुने गरेको उनीहरुको दुखेसो छ । उनी सहित स्थानिय ४० मुसहर घर परिवार चिसोका कारण समस्यामा परेका छ्न ।
चिसोको प्रकोप सहितक जिल्लामा आउने विपद व्यवस्थापनको जिम्मेवारीमा समेत रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले विगतका वर्षमा बाडिएको न्यानो कपडाले नै चिसो छल्न सकिने देखि परि आएका बेला राहतका लागि तयार रहन पालिकाहरुलाई निर्देशक दिइसकेको बताउछन् भने सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पनि पालिकाहरुसंग समन्वय गरि राहतका लागि तयारी भइरहेको बताउछन् ।

जिम्मेवार राज्यका निकायहरुले राहका लागि समन्वय र तयारी मात्र भइरहेको दावी गरिरहँदा अर्को तर्फ भने गरिव विपन्नहरु चिसोले पिरोलिदै छ । विपदले अक्रान्त बनाइसकेपछि बल्ल राहतका लागि राज्यले चासो सुरु गर्ने परम्पराले राहत भन्दा पनि बिना कामको औपचारिकता मात्र प्रदर्शन हुन गरेको देखिन्छ । विपद व्यवस्थापन समितिको संयोजक रहेका प्रमुख जिल्ला अधकिारीहरुको तर्कले पनि यस्का लागि पुर्व तयारी हुन नसकेको संकेत गरिरहेको छ ।
एता शुक्रवार प्रदेशका गृहमन्त्री नेतृत्वको प्रदेश विपद व्यवस्थापन समितिले मधेशको आठवटै जिल्लालाई तत्काल राहतका लागि जिल्ला पिच्छे आठ/आठ लाख रुपैया दिने निर्णय गरेको छ । तराई मधेशमा एक सप्ताह देखिको शीतलहर कायम छ । १७ पुसदेखि सुरु भएको शीतलहर अझै तिन दिन सम्म रहने मौसम पूर्वानुमान महाशाखाको जानकारी छ । जाडोका कारण सिरहा, धनुषामा सामुदायिक विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ ।

नेपाली सेना, उद्योग बाणिज्य संघ सहितका संघ संस्थाहरुको अगुवाईमा ठाँउ ठाँउमा काठ र दाउराको बन्दोवस्त गरि आगो ताप्ने व्यवस्था गरिएको देखिन्छ । एक सप्ताह देखि घाम उदाउन छोडेपछि जनजिवन थप प्रभावित बनेको छ । भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकी सहितको बालबालिका तथा बृद्वबृद्वा बिरामीहरुको संख्या अस्पतालहरुमा बढदै गएको छ ।
सिरहाका पत्रकार सुरेश रायको सहयोगमा