एसपी रिपोर्टर
जनकपुरधाम, पुष २२ : जसपा नेपालको मधेश प्रदेशमा दलको नेता छान्न सकस भइरहेको छ । पछिल्लो पटक निरन्तर दुई दिन देखि जारी बैठकले पनि जसपाको दलका नेता तय हुन सकिरहेको छैन । केन्द्रिय नेतृत्वले सहमतीमै नेता छानेर सकारात्मक सन्देश दिनुपर्ने अडानमा रहेको छ भने प्रदेशका सांसदहरु बिच दलको नेता निश्कर्ष लगाउने प्रयास अझै सफल हुन सकेको छैन ।
विहिवार विहानै देखि बसेको बैठक आज शुक्रवार पनि समाचार तयार पार्दा सम्म जारी छ । एक युवा नेताका अनुसार आज पनि पार्टीले दलको नेता पाउने सम्भावना कम छ । यद्यपि उनका अनुसार एक दावेदार भने घटेको छ । निवर्तमान सभामुख र दलको नेतामा प्रवल दाबेदारको रुपमा चर्चामा रहेका सरोज यादवले सांसद रामअशिष यादवको नाउँमा सहमती भए आफु छाडन तयार रहेको बताइसकेको स्रोतले बताएको छ ।
यद्यपि मुख्यमन्त्री लालबाबु राउतको दावी र शक्तिका कारण अझै बैठक निश्कर्षमा पुग्न सकेको छैन । पहिलो अनुभव त्यसमा पनि विभिन्न प्रतिकुलताका बिच पनि पाँच वर्ष प्रदेश सरकार चलाउन सफल भएकाले आफु स्वतः दलको नेता हुनुपर्ने राउतको तर्क छ । सरोज यादवको संकेतले सांसद रामअशिष यादवको पक्षलाई पनि बल मिलेको छ । रामअशिष यादवले आफु दलको नेता भए अन्य दललाई पनि खुसी हुने र पार्टीको नेतृत्वमा सरकार बनाउन सहज हुने तर्क गरिरहेको एक नेताले बताए । आज सम्भावना अव कम छ भोली पुनः सहमतीकै लागि बैठक बस्न सक्ने उनको भनाई छ ।