एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गरिने भएको छ । जसपाका नेता लालकिशोर साहको नेतृत्वमा गठन गरिएको निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि तयारी थालेको छ ।
जनकपुरधाममा बिहीबार संसदीय दलको नेता चयनका लागि सांसदहरूको बैठक बसेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए । उनले बिहीबारको बैठकमा संसदीय दलको विधान पारित गरिएको जानकारी दिए । अब शुक्रबार दलको नेता चयन गरिने साहले बताए ।
उनले भने, ‘जसपाको संसदीय दलको विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । सोही बमोजिम मधेस प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको छ ।’ मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् । मधेस प्रदेशमा नेपाली कांग्रेसले कृष्ण प्रसाद यादव, जनमत पार्टीले महेश प्रसाद यादव र नेकपा एमालेले सरोज यादवलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।