एसपी रिपोर्टर
जनकपुरधाम, पुष २० : मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा महोतरीका सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । बुधवार विहान जनकपुरधाममा बसेको बैठकले यादवलाई दलको नेता चयन गरेको हो । दलको उपनेतामा भने धनुषाका दिपेन्द्र ठाकुर चयन भएका हुन ।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको पहिलो बैठक बसेको थियो । आकांक्षीहरु बढी भएको र आ–आफनै दाबी समेत गरेकाले बुधवार विहान साढे ११ बजे मात्र दलको नेतामा सहमती जुटेको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका नव नियुक्त दलका नेता यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका थिए । उपनेता भएका ठाकुर धनुषा ३ ‘ख’ बाट निर्वाचित भएका हुन ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्य समेत रहेकाहरु रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापा लगायत दाबेदार रहेका थिए । मधेश प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमालेको २३ सांसद छन् ।