एसपी रिपोर्टर
जनकपुरधाम, पुष १८ : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाँचवर्षे आफ्नो कार्यकालमा मधेश सरकारको आधार निर्माण गर्न सफल भएको बताउनुभएको छ । सोमबार मधेश प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतले विभिन्न किसिमका आरोह अवरोधलाई पार गर्दै मधेश सरकारले आधार निर्माण गरेकाले अब बन्ने सरकारलाई काम गर्न सहज हुने बताउनुभयो ।
उहाँले यस अवधिमा यस प्रदेशका लागि अति आवश्यक कानुनहरू बनाउन सफल भएको, मधेश प्रदेश सरकारको संरचना निर्माण गर्न सफल भएको, तीन वटा विश्वविद्यालय स्थापना गर्न सफल भएको, जनजिविकाका लागि महत्वपूर्ण योजनाहरू ल्याउन सफल भएकोलगायत उपलब्धि गरेको बताउनुभयो । मुख्यमन्त्री राउतले मधेश सरकारको पाँचवर्षे कार्यकालका अवधिमा प्रतिपक्षमा रहेका दलहरूको पनि महत्वपूर्ण साथ रहेको बताउनुभयो । सबै दल एकबद्ध भएकै कारण यस प्रदेशका लागि महत्वपूर्ण कामहरू गर्न सकेको उहाँको भनाइ छ ।
मधेश आन्दोलनको जगमा संघीयता आएको भन्दै मुख्यमन्त्री राउतले यसको कार्यान्वयनमा सबैको योगदान आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय संघीयता विरोधी दलहरू पनि स्थापित भएकाले संघीयताको रक्षाका लागि नयाँ जनप्रतिनिधिहरूको काँधमा थप जिम्मेवारी आएको पनि उहाँले बताउनुभयो । सो क्रममा बोल्दै नेकपा एमालेका नेता तथा मधेश प्रदेशका सांसद् राजकुमार लेखीले मधेशमा महिला हिंसाका घटना बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सांसद् लेखीले मधेशमा महिला हिंसाका घटना बढेको समाचारहरू आइरहेको भन्दै यसको न्यूनीकरणमा आवश्यक कदम उठाउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।
सांसद् लेखीले मधेश प्रदेशका दलहरू विकास निर्माणका सवालमा एक ढिक्का बन्नुपर्ने बताउनुभयो । उहाँले सुशासन र पारदर्शीताको क्षेत्रमा अब बन्ने प्रदेश सरकारले उदाहरणीय काम गर्ने पनि विश्वास व्यक्त गर्नुभएको थियो । जनमत पार्टीले मधेश सरकारले गत पाँच वर्षमा गरेको कामको ‘रिपोर्ट कार्ड’ उपलब्ध गराउन माग गरेको छ । सोमबार मधेश प्रदेशसभामा जनमत पार्टीका सांसद बसन्त कुशवाहाले मधेश सरकारले हालसम्म गरेको कामको सम्मान गर्दै पछिल्लो पाँच वर्षको रिपोर्ट कार्ड अर्थात फ्याक्ट सिट उपलब्ध गराउन अनुरोध गर्नुभएको हो ।
अघिल्लो सरकारले हालसम्म गरेको कामको जानकारी पाएपछि अब बन्ने सरकारलाई काम गर्न सहज हुने उहाँको भनाइ छ । सांसद् कुशवाहाले जनताले जनमत पार्टीमाथि गरेको आशा र विश्वासअनुसार काम गर्ने बचन पनि दिनुभयो । उहाँले विगतमा देखिएको असझदारीलाई बिर्सेर अघि बढ्न पनि सबैसँग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सांसद् कृष्णप्रसाद यादवले संघीयतामाथि खतरा बढेको बताउनुभएको छ । सोमबार मधेश प्रदेशसभामा नेता यादवले संघीय सरकारको गठबन्धनमा केही संघीयता विरोधी दलहरूसमेत रहेकाले संघीय संरचनालाई बनाउन ठूलो चुनौती देखिएको बताउनुभएको हो । उहाँले मधेश प्रदेशमा बन्ने नयाँ सरकारले यहाँका जनताको चाहना बमोजिम काम गर्नुपर्ने बताउनुभयो । मधेश सरकारले कृषि र किसानलाई पहिलो प्राथमिकता दिनुपर्ने पनि बताउनुभयो ।
बैठकमा जनता समाजवादी पार्टीका सांसद् राजकुमार गुप्ताले मधेशका जनताको अपेक्षा बढी रहेको भन्दै अबको पाँच वर्षमा राम्रो काम गर्नुपर्ने बताउनुभयो । उहाँले वितेको पाँच वर्षमा मधेश सरकारले उल्लेखनीय काम गरेको पनि दाबी गर्नुभयो ।सांसद् गुप्ताले मधेश सरकारले विगतमा गर्न नसकेका बाँकी कामहरूले अब बन्ने सरकारले पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले मधेशीले हालसम्म गरेको योगदानअनुसारको उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ । सोमबार मधेश प्रदेशसभामा लोकसाका सांसद् सोनलले मधेशको भूमि र मधेशीको अतुल्नीय इतिहास भए पनि यसका जनताले त्यसअनुसारको उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको हो । उहाँले विभिन्न कालखण्डमा मधेशले हरेक किसिमले देशका लागि योगदान गरे पनि राज्यले यस भूमिलाई जहिले पनि उपहास गरेको गुनासो गर्नुभयो ।
सांसद् सोनलले मधेशका आठवटै जिल्ला मावन सूचकांकमा पछाडि रहेको उहाँले चिन्ता जनाउनुभयो । मधेश प्रदेशलाई कस्तो बनाउने जिम्मेवारी अब नयाँ जनप्रतिनिधिहरूको काँधमा आएको भन्दै उहाँले संघीयताको भावनाअनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । यसका लागि एकबद्ध भएर अघि बढ्न पनि सबैसँग आग्रह गर्नुभयो । नेता सोनलले मधेशमा स्वशासन बिना सुशासन स्थापना हुन नसक्ने भन्दै यसतर्फ नयाँ सरकारले ध्यान दिने विश्वाससमेत व्यक्त गर्नुभएको थियो । मधेशलाई समृद्ध प्रदेश बनाउने पूर्वजको सपना साकार गर्न सबै मिलेर अघि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभएको थियो ।
पहिलो बैठकमा दलिय हिसावले बोलेका सांसदहरु शुभकाममना व्यक्त गर्नुका साथै आ आफनो पार्टीको अगामि अपेक्षा र धारणा राखेका थिए । ऐन अनुसार संसद सचिवालयले पहिलो अधिवेशन बोलाउदा कम्तिमा सात दिन अगाडि जानकारी दिनुपर्ने भएपनि तिन दिनमै अधिवेशन आहवान गरिएको भन्दै लोसपाका उपेन्द्र महतो र कांग्रेसका रामसरोज यादवले बैठकको सुरुमै नियमापती जनाएका थिए । सभामुखले मुख्यमन्त्रीको आग्रहमा प्रदेश प्रमुखले अधिवेशन आहवान गरेको जवाफ फर्काएका थिए भने मुख्यमन्त्री राउतले गल्ती भएको स्वीकार गरेका थिए । बैठकको प्रारम्भमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्न मौन धारण गरिएको थियो ।