एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : धनुषामा अघिल्लो वर्षको तुलनामा अपराधका घटनामा कमी आएको एक तथ्यांक देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले शुक्रबार गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकमा अपराधका घटनाका कमी आएको देखाइएको हो ।
इन्सेकले सन् २०२२ को जनवरीदेखि डिसेम्बर सम्ममा धनुषामा भएका अपराधसहित मानव अधिकार उल्लंघनका घटनाको विवरण सार्वजनिक गरेको हो । जसअनुसार धनुषामा यस अवधिमा ५७ वटा घटना भएका छन् । जसमा १२ जनाको हत्या भएको छ । त्यस्तै, बलात्कारका घटना १०, बलात्कार प्रयास २, यौन दुव्र्यवहार ४, मानव बेचविखन तथा ओसारपसार एवम् शरीर बन्धक ४ र अमानवीय व्यवहारका घटना ३ वटा भएका छन् ।
त्यसैगरी, हत्या प्रयासको घटना ७ वटा भएका छन् । जसमध्ये राज्यपक्षद्वारा गोली प्रहार १ र गैरराज्य पक्षद्वारा गोली प्रहारका दुई घटना पनि सामेल छन् । एक वर्षमा बहुविवाहका घटना २, ज्यान मार्ने धम्की १, कुटपिट ७, घरेलु हिंसाका २ घटना भएका छन् ।
समीक्षा कार्यक्रममा सहभागीहरूले अघिल्लो वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी देखिए पनि चित्त बुझाउने ठाउँ नरहेको बताएका छन् । इन्सेकले धनुषासहित देशभर आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँगै मानवअधिकारको क्षेत्रमाम क्रियाशील सामाजिक गैरसरकारी संस्था हो । इन्सेकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ जिल्ला प्रतिनिधिमार्फत मानवअधिकार उल्लघंनका घटना तथा ज्यादतीका घटनाहरू अभिलेखीकरण गर्दै आएको छ ।