एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : मधेश प्रदेशमा लागू भएको चुरे उत्थानशील आयोजनाको समीक्षा गरिएको छ । जनकपुरधाममा बुधबार नदी प्रणालीमा आधारित संवेदनशील पारिस्थितिकीय प्रणाली पुनस्र्थापना योजनाहरूको समीक्षा तथा प्रमाणीकरण अन्तक्र्रिया गोष्ठी गरिएको हो ।
चुरे उत्थानशील आयोजना मधेश प्रदेशका पाँच जिल्लाका आठ वटा नदी प्रणालीको संरक्षणमा काम गर्दै आएको छ । दुई वर्षअघि लागू भएको यो आयोजनाको समीक्षा गोष्ठीमा सहभागीहरूले तीनवटै तहका सरकारको समन्वय र अन्य सरोकारबाला निकायको सहयोग भएपछि सहजै यो आयोजना सफल हुने बताएका छन् ।
उनीहरूले चुरेको संरक्षण र नदी कटान नियन्त्रणलगायतका काममा तीनवटै तहका सरकारहरूबीच समन्वय हुन नसकेको पनि बताएका छन् । आयोजनाहरू सफल पार्न सर्वसाधारणको पनि उत्तिकै सहयोग हुनुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा आयोजनाका निर्देशकसमेत रहेका संघीय वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर राजेन्द्र केसीले यो आयोजनाले चुरे संरक्षण, वन व्यवस्थापन, दीगो कृषिलगायत क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।
यो आयोजनाले मधेश प्रदेशको पश्चिममा लखनदेही नदीदेखि पूर्वमा बलान नदीसम्म नदी संरक्षणको काम गर्दै आएको छ । सातवर्षे आयोजनाको दुई वर्ष पूरा भइसकेको छ । हालसम्मम नदीहरूको सर्वेका साथै नदी प्रणालीको योजना बनाउने काम पूरा भएको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।
दुई वर्षमा प्रारम्भिक कार्य पूरा भएको र मूल कामहरू अबको पाँच वर्षमा गर्नुपर्ने उनीहरूले बताएका थिए । संघीय सरकारको वन तथा वातावरण मन्त्रालय चुरे उत्थानशील आयोजना, ग्रीन क्याइमेट फन्ड, संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले गोष्ठी गरेका हुन् ।