एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ : जनता समाजवादी पार्टीले चुनावमा अपेक्षित नतिजा ल्याउन नसक्नुको कारण खोज्न सुरु गरेको छ । बुधबार जनकपुरधामस्थित पार्टीको मधेश प्रदेश कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उम्मेदवार बनेकाहरूसँग बैठक बसेर चुनावको समीक्षा गर्नुभएको हो ।
पार्टीका अत्याधिक उम्मेदवार निर्वाचित हुन नसक्नुको कारणका साथै कहाँ–कहाँ कमजोरी हुन पुगेको विषयमा अध्यक्ष यादवले नेताहरूसँग छलफल गर्नुभयो । बैठकमा चुनावको नतिजाको सुक्ष्म विश्लेषण गरी अब पार्टीलाई योजनाबद्ध तरिकाबाट कसरी बढाउने विषयमा सहभागी नेताहरूसँग सुझाव लिइएको थियो ।
बैठकमा मधेश प्रदेशमा भएको चुनावमा पराजित भएका अधिकतर नेताहरूको सहभागिता थियो । पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, नेताहरु प्रमोद साह, विजय यादव, लालकिशोर साह, जितेन्द्र यादव, गंगाराम यादव, योगेन्द्र यादव सहितको उपस्थिती थियो ।