एसपी रिपोर्टर
जनकपुरधाम, पुष १२ : जनकपुरधामका मेयर मनोजकुमार साहले नगरको फोहर व्यवस्थापनका लागि जमिन उपलब्ध भइसकेको जानकारी दिनुभएको छ । मंगगलबार वडा नम्बर १० लाई पूर्ण खोप वडा घोषणाका लागि गरिएको कार्यक्रममा मेयर साहले फोहर व्यवस्थापनका लाागि जग्गा उपलब्ध भइसकेको भन्दै यसबारे विस्तृत जानकारी पछि दिने बताउनुभएको हो ।
उहाँले जनकपुरधामलाई व्यवस्थित बनाउन आवश्यक पाँच वटा पक्षमा काम सुरु गरिसकेको पनि जानकारी दिनुभयो । जसमध्ये तीन वटा पक्षको काम करिब–करिब पूरा भइसकेको उहाँको भनाइ छ ।
मेयर साहले नगरलाई फोहरमुक्त बनाउनका लागि आवश्यक काम अगाडि बढाइसकेको बताउनुभयो । उहाँले केही दिन धैर्य गर्न पनि सबैसँग आग्रह गर्नुभयो । त्यसक्रममा वडा नम्बर १० लाई पूर्ण खोप वडा घोषणा गरिएको छ । कार्यक्रममा उपमेयर किशोरी साहले वडालाई पूर्ण खोप बनाउने अभियान सफल भएकोमा स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुलाई धन्यवाद दिनुभयो ।
त्यस्तै, वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णले पूर्ण खोप घोषणालाई व्यवहारमा कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले कुनै पनि बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत २५ वडामध्ये पाँच वटा वडा पूर्ण खोप वडा घोषणा भइसकेका छन् । बाँकी वडाहरुलाई पनि माघभित्र पूर्ण खोप वडा घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिइएको थियो । हालसम्म वडा नम्बर ८, ११, २१ र २३ पूर्ण खोप वडा घोषणा भइसकेका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार रामभरत साह, वडा नम्बर ९ का अधयक्ष परमेश्वर साह, जनकपुरधामस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका प्रमुख डाक्टर राजेश साह, खोप केन्द्रका विज्ञहरुलगायत सहभागी भएका थिए ।