एसपी रिपोर्टर
जनकपुरधाम, पुष ८ : मधेशी भाषा स्थापित भएको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताले दीपप्रज्वलन गरेका छन् । शुक्रबार जनकपुरधामको भ्रमरपुरा चौकमा जनमत पार्टीका नेता तथा जनकपुरधाम वडा नं. ७ का सभापती अजय कुमार साहको अगुवाईमा नेता कार्यकर्ताले दीपप्रज्वलन गरेका छन् । उनीहरूले मधेशीलाई एकताबद्ध गर्न र यसका सबै भाषालाई एकसूत्रमा बाँध्न मधेशी भाषा आवश्यक रहेको बताएका छन् ।
उनीहरूले अधिकारको संघर्षमा मधेशी भाषामा सपथ लिनु उपलब्धि भएको पनि बताएका छन् । मातृभाषामा शपथ लिन पाउने संवैधानिक अधिकारको उपयोग गर्दै कतिपय प्रतिनिधिसभाका सांसदले बिहीबार आफ्नै भाषामा शपथ लिएका थिए ।सीके राउत नेतृत्वको जनमत पार्टीका तीन सांसदले नेपालमा यसअघि चर्चा नभएको मधेशी भाषामा शपथ लिएका थिए ।
पार्टी अध्यक्ष तथा सांसद् डाक्टर सीके राउत, बिनिताकुमारी सिंह र अनिता देवी साहले मधेशी भाषामा सपथ लिएका थिए । सपथसँगै मधेशी भाषाले मान्यता पाएको भन्दै जनमत पार्टीका नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका हुन् ।