एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : मधेशी भाषा संस्थागत भएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा दिप प्रज्वलन गरिएको छ । प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित तीन जना सांसदहरुले मधेशी भाषामा शपथ लिएपछि मधेशी भाषा संस्थागत भएको भन्दै दिप प्रज्वलनसहित खुशियाली मनाइएको छ ।
बिहिबार साँझ जनकपुरधामस्थित जनक चौकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले आजबाट विश्वमा मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरे । नेता साहले भने,‘मधेशी भाषा अथवा मध्यदेशीय भाषाको परिकल्पनाकार डा.सीके राउतलाई धन्यवाद दिन चहान्छु । उहाँले मधेशी भाषाको परिकल्पना गरी मधेशका भाषाहरुलाई संस्थागत गराउनु भयो।’

‘मधेशमा बोलिने सबै भाषा मधेशी भाषा हुन् । यो भाषा मधेशीहरु स्वयम्ले बोल्ने गरेका छन’, नेता साहले भने,‘मधेशी भाषा कसैमाथि लादिने भाषा होइन । यो पूर्वदेखि पश्चिमसम्मका मधेशीहरुको भाषा हो ।’ मधेशमा विभिन्न भाषाहरु रहेको र कतिपयलाई भाषाबाटै अपहेलित गरिने गरेको सुनाउँदै नेता साहले भने,‘हामी जे बोल्छौं त्यही मधेशी भाषा हो ।
जनमत पार्टीका युवा नेता तथा पुर्व विद्यार्थी जनमत संघ धनुषाका कोषाध्यक्ष विरेन्द्र यादवले पार्टी अध्यक्ष डा. राउतले आज मधेशी भाषा संस्थागत गर्दै मधेशी जनताको शान बढाएको बताए । मधेशमा बोलिने सबै भाषालाई मधेशी भाषाका रुपमा जनमत पार्टीले लिएको उनको भनाई छ ।
राजविराजमा भने खुसी र विरोध पनि

सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा बिहीबार लिएको शपथ बदर हुनुपर्ने माग गर्दै प्रदर्शन भएको हो । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् । मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्व अध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए ।
त्यसै गरि जनमत पार्टीका समर्थहरुले भने सप्तरीको राजविराजमा पनि दिप प्रज्वलन गर्दै मधेशी भाषा संस्थागत भएकोमा खुसी व्यक्त गरेका छन् । राजविराजमा डा. राउतको पोष्टर सहित एतिहाँसिक कामका लागि धन्यवाद ज्ञापन गर्दै दिप प्रज्वलन गरि खुसी व्यक्त गरिएको छ ।
