एसपी रिपोर्टर
काठमाण्डौं, पुष ७ : नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ को घोषणा पछि नेपालमा दोस्रो प्रतिनिधीसभाले पुर्णता पाएको छ । गत मसिंर ४ गते भएको प्रदेश र प्रतिनिधीसभा सदस्यहरुको निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै संघिय संसदका कुल २ सय ७५ जना सदस्यहरु मध्ये कुल २ सय ७० जना प्रतिनिधीसभा सदस्यले विहिवार सपथ ग्रहण गरेका छन् ।
संसद भवनमै भएको सपथ ग्रहण समारोहमा नेपाली बाहेक विभिन्न १४ वटा मातृभाषाहरुमा सांसदहरुले सपथ ग्रहण गरेका छन् । नेपाली बाहेकका भाषामा कुल २६ जना सांसदले सपथ ग्रहण गरेका छन् । पहिलो पटक संसदमा पाइला टेकेका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहितका सांसदले मधेशी भाषामा सपथ ग्रहण गरेको बताइन्छ ।
जेलमा रहेका रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ती पार्टीबाट निर्वाचित सांसदहरु थारु पहिरन र भेषभुषामा संसदमा पुगेका थिए । पार्टीको सांसद गंगाराम थारु त धोतीका साथै खराम (काठको चप्पल) र उनको परम्परागत टोपी लगाएर संसद प्रवेश गरेका छन् ।
एमालेका सांसदहरु भने पार्टीको ह्वीप अनुसार राष्ट्रिय पोशाक दाउरा सुरुवाल र ढाका टोलीमा देखिए । चारजना सदस्य अनुपस्थित रहेको र एकजना जेयष्ठ सदस्य पशुपती शमसेर राणाले बुधवार नै राष्ट्रपतिबाट सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण समारोहमा एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसकी माया राई, नेसपाका सांसद् महिन्द्रराय यादव र नेकपा माओवादी केन्द्रका सांसद् रामकुमार राई अनुपस्थित रहेको बताइन्छ ।