एसपी रिपोर्टर
जनकपुरधाम, पुष ६ : विकास पुरुष भनेर चिनिने स्वर्गीय मकेश्वरप्रसाह सिहंको १२ औँ स्मृति दिवस मनाइएको छ । स्वर्गीय सिंहको स्मृति दिवसमा बुधवार मकेश्वर बाबु सामाजिक प्रतिष्ठानले जनकपुरधाममा श्रद्धाञ्जलीसभा गरेको हो । सभामा सहभागीहरूले स्वर्गीय सिंहले जनकपुरधामको विकासमा पुर्याएको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा राजनितिज्ञ श्रीप्रसाद साह, समाजिक अगुवा अमरचन्द्र अनिल सहितकाले स्व. मकेश्वर बाबुको योगदान र समाजिक उत्थानका कार्यलाई स्मरण गरेका थिए ।
स्व. सिंहले जनकपुरधामको स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको वक्ताहरुले चर्चा गरेका थिए । कार्यक्रममा जनकपुरधामका पूर्वमेयर बजरंगप्रशाद साहले काठमाण्डौंबाट श्रद्धाञ्जलीका सन्देश पत्र मार्फत पठाएकोमा प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले पढेर सुनाएका थिए । वक्ताहरुले मकेश्वर बाबु प्रेरणाको स्रोत भएको बताउनुभयो ।
उहाँहरुले आधुनिक जनकपुरधामको निर्माणमा करिब ६० वर्षसम्म सामाजिक सेवामा प्रतिबद्ध मकेश्वर बाबुले शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रितेशकुमार सिंहले पछिल्लो समय सामाजिक सेवाका नाममा विकृतिहरू देखिन थालेको भन्दै दु:ख व्यक्त गर्नुभयो । सफल समाजसेवीका रूपमा चर्चित स्वर्गीय मकेश्वर सिंहले जनकपुरधामका धरोहरहरू अञ्चल अस्पताल, आँखा अस्पताल, रेडक्रस सोसाइटी, राराब क्याम्पस, अपाङ्ग संघ, सुस्त मनिस्थिति केन्द्र, सरस्वती, कन्या माविसहित दर्जनौ संस्थाहरूको संस्थापक भई जनकपुरधाम निर्माणमा योगदान दिनुभएको थियो । सिंहको जन्म १९८३ मा भएको थियो ।
२०३७ सालको जनमत संग्रहपछि वनमन्त्री बनेका सिंह २०२६ सालमा जानकी मन्दिर प्राङ्गनमा राजा महेन्द्रको प्रतिमा तोडफोड घटनामा जेलसमेत जानु परेको थियो । उहाँको २०६७ साल पुष ६ गते निधन भएको थियो ।
सो कार्यक्रमका बिच प्रतिष्ठानले यस वर्ष पत्रकार सुजित झालाई ५१ सय राशी सहित मकेश्वर बाबु उत्कृष्ट समाजिक सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ । पत्रकारितामा दशकौंको योगदान रहेको भन्दै झा लाई प्रतिष्ठानले पुरस्कृत गरेको स्व. सिंहका अर्का नाती पत्रकार रुपेश सिंहले बताए । प्रतिष्ठानबाट पुरस्कार पाउने झा १२ औं व्यक्ति हुन ।
कार्यक्रममा नेकपा एसका नेता श्री प्रसाद साह, समाजसेवी अमरचन्द्र अनिल, प्रकाश चन्द्र साह सहित समाजका अगुवाहरु र बुद्विजिवीहरुको उपस्थिती थियो ।
विकास पुरुष राम नारायण मिश्रको स्मरण
जनकपुरधाममा कांग्रेसका नेताहरु तथा बुद्विजिवीहरुले विकास पुरुष तथा नेपाली कांग्रेसका स्व. नेता रामनारायण मिश्रको स्मरण गर्नुका साथै उनको योगदानको चर्चा गरेका छन् । स्वर्गीय मिश्रको ५५ औँ पुण्यतिथिमा भएको श्रद्धाञ्जलीसभामा नेताहरुले स्व. मिश्र सहितका नेताहरुले देखाएको मार्गमा हिन्न नसकेकै कारण कांग्रेस पछाडि परेको बताए ।
स्व. मिश्र विपी कोइरालाको प्रधानमन्त्री कार्यकालमा उद्योग मन्त्री हुँदा जनकपुरधाम चुरोट कारखाना स्थापना गरि यस क्षेत्रको आर्थिक अवस्था र समाजिक रुपाणतरनमा अहम योगदान पुरयाएका थिए । जनकपुरधाममा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी नेताहरूले स्वर्गीय मिश्रको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा स्वर्गीय मिश्रका सुपुत्र तथा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रलगायतका सहभागी भएका थिए ।
प्रदेश प्रमुख मिश्रले पिताको योगदान र अटल बिचारलाई स्मरण गर्दै नेताहरुमा अहिले विचार र विकास तथा समाजिक हितको सोच नै हराएको बताए । महोत्तरीका स्वर्गीय मिश्र २०१५ सालमा पहिलो जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । २०१७ सालमा पुष १ गते बहुदलीय संसदीय व्यवस्था खोसेका तत्कालीन राजा महेन्द्रले मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । मिश्रको २०२७ साल पुष ६ गते निधन भएको थियो । मिश्र प्रजातान्त्रिक आन्दोलनका निष्ठावान व्यक्तिका रूपमा मानिनुहुन्छ ।