एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : प्रत्येक वर्ष जस्तै जनकपुरधामको रामानन्दचौक स्थित श्री रामानन्द युवा क्लवले वार्षिकोत्सवको अवसरमा प्रदान गर्ने पुरस्कारहरुबाट यस वर्ष पनि विभिन्न श्रष्ठा पुरस्कृत भएका छन् । क्लवले श्री विद्यापति स्मृति पदक पुरस्कारबाट यसवर्ष कवि काशीकान्त झा रसिक र श्री सरस्वती राजनारायण कला पुरस्कारबाट गायक तथा क्लवका पुर्वअध्यक्ष नविन कुमार मिश्रलाई पुरस्कृत गरेको छ ।
पुरस्कारको राशी क्रमश २५ हजार र १५ हजार रहेको छ । साथै गत वर्षको वार्षिकोत्सवमा पुर्व अध्यक्ष दिपेन्द्र ठाकुरले आफनो बुवाआमाको नाममा घोषणा गरेको वशिष्ठ चन्द्रकला पुरस्कार यसवर्ष देखि खेलकुदको क्षेत्रमा प्रदान गर्न थालिएको छ । यो पुरस्कार युवा क्रिकेट तथा राष्ट्रिय खेलाडी अनिल मण्डललाई प्रदान गरिएको छ ।
यो पुरस्कारको राशी २१ हजार रहेको छ । पुरस्कार घोषणा गर्ने ठाकुर अहिले प्रदेशसभा सदस्यमा एमालेबाट निर्वाचित भइसकेका छन् । सो अवसरमा क्लवको आयोजनामा आइतवार भएको रक्तदान कार्यक्रमका ६७ रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । पुरस्कार, सम्मान र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले प्रदान गरेका थिए ।
क्लवका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सन्तोष मान सिंह, समाजसेवी पवन सिंहानिया, पुर्व अध्यक्षहरु, क्लवका पदाधिकारीहरु सहित समाजका अगुवाहरुको उपस्थिती थियो ।