एसपी रिपोर्टर
काठमाण्डौं, पुष ४ : मधेशमा लोकप्रिय मतका साथ राष्ट्रिय पार्टीको रुपमा स्थापित भएको जनमत पार्टीको संसदिय दलको नेतामा पार्टी अध्यक्ष डा. सिके राउत चयन भएका छन् । पार्टीबाट उनी एक मात्र प्रत्यक्ष निर्वाचित सांसद हुन । दलको उपनेतामा सांसद अब्दुल खान चयन भएका हुन ।
त्यसैगरि पार्टीको प्रमुख सचेतकमा सांसद अनिता साह, सचेतकमा सांसद गोमा लाभ सापकोटा र सचिवमा सांसद विनिता सिंह दनुवार र कोषाध्यक्षमा सांसद सोनु मुर्मु चयन भएको नेता विपी साहले जनाएका छन् । जनमतको प्रत्यक्ष एक र समानुपातिकमा पाँच गरि संसदमा कुल छ सांसद जितेका छन् ।
रास्वपामा लामिक्षाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए ।
दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ । आज बिहान ११ बजे बोलाइएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने रास्वपाले जनाएको छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा मात्र भाग लिएको रास्वपाले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट जितेको छ ।