एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ : धनुषाक नगराइन नगरपालिकामा जारी कर्मचारीको आन्दोलनमा ऐक्यबद्धता जनाउदै मंगलवार विद्यार्थीहरु समेत प्रदर्शन गरेको छ । नगराइन नगरपालिकाको नगरसभा हुन नसकेपछि तलब भत्ता नपाएको भन्दै आन्दोलनरत कर्मचारीको मागप्रति समर्थन जनाउदै विद्यार्थीहरु विगत तिन दिन देखि सुरु गरेको प्रदर्शन मंगलवार समेत जारी राखेका छन । उनीहरु स्थानिय राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरु हुन ।
नगरसभा नभएकाले नगरपालिका अन्तर्गतक शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रका कर्मचारी साउन महिनाबाट तलब पाउन सकेका छैनन । विद्यार्थी विष्णु ठाकुरको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरु उपमेयर राधादेवी यादव विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरु उपमेयरको घर पुगेर समेत प्रदर्शन गरेका हुन ।
एता आफुहरु तलव भत्ता नपाएको भन्दै नगराइन नगरपालिका अन्तर्गतका कर्मचारीहरु अनिश्चितकालीन धर्ना तथा बन्द कार्यक्रम जारी राखेका छन् । कर्मचारीहरु केहि दिन पहिला कार्यालयमा तालाबन्दी समेत गरेका थिए । स्थानीय चुनाव सम्पन्न भएको ६ महिना बित्न लागेपनि नगराइन नगरपालिकाको नगरसभा हुन सकेको छैन ।
मुख्यत: नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधिबीचको विवादका कारण अहिले सम्म नगरसभा हुन नसकेको छैन । कार्यपालिकामा बहुमत रहेको एमाले सहितका जनप्रतिनिधिहरु कांग्रेसका मेयर विनय यादव मनोमानी तरिकाले नगरपालिका चलाउन खोजेको आरोप लगाउदै आएको छ । मेयर यादव भने वडा अध्यक्षहरुको अवरोधका कारण नगरसभा बस्न नसकेर समस्या उत्पन्न भएको बताउदै आएका छन् ।
मेयरले विद्यार्थी उस्कायो : एमाले
एता नगराईनको विवाद बढदै गएपछि नेकपा एमालेले २०७४ सालमा स्थानिय राजपत्रमा उल्लेख भएको स्थानिय तह सञ्चालन ऐन अनुसार नगरपालिका सञ्चालन हुनुपर्ने बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गरि एमालेबाट निर्वाचित उपप्रमुख सहितका जनप्रतिनिधीहरुले यसअघिको मेयरले बहुमतको आडमा संसोधन गरेको २०७४ सालको कार्यविधी खारेज गरेर पहिलाकै ऐन अनुसार नगरपालिका चल्नु पर्ने बताएका छन् ।
एमालेबाट निर्वाचिन उपप्रमुख राधादेवी यादव, वडा अध्यक्षहरु सहितका जनप्रतिनिधीहरुले मेयरले विद्यार्थीहरुलाई सडकमा उतारेर राजनिति सुरु गरेको आरोप लगाउदै अव आफुहरु पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । नगरपालिकाको अभिभावक भएर बहुमतको आवाज सुन्दै समस्या समाधान गर्नुभन्दा उल्टै विद्यार्थी र युवाहरु उस्काउने काम मेयरले गरेको भन्दै उनीहरु वडा वडामा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आफुहरुलाई बाध्य नबनाउन उनीहरुले चेतावनी दिएका छन् । कांग्रेसको राजाई गर्ने मनशायका कारण नगरपालिकाको कामकाज ठप्प भएको उनीहरुको तर्क छ ।