एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २७ : मधेश कांग्रेसमा पुन: एकपटक राम र कृष्ण बिच प्रतिस्पर्धाको माहोल बन्दै गएको छ । राम भन्नाले निवर्तमान कांग्रेस मधेश संसदिय दलका नेता राम सरोज यादव र कृष्ण भन्नाले वर्तमान पार्टीका मधेश समितिका सभापती कृष्ण यादव । राम धनुषाको ३ ‘क’ बाट प्रदेश सांसदमा प्रत्यक्ष निर्वाचित भएका छन भने कृष्ण रौतहटको १ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।
यस अघिको प्रदेशसभामा संसदिय दलका नेता भएर रामले प्रदेश सरकार चलाईसकेकाले अव प्रदेश सरकारको नेतृत्व आफनो स्वभाविक रहेको मधेश सभापती कृष्णको तर्क छ । उनले आफु पार्टीको मधेश सभापती समेत रहेकाले आफनो दावी स्वभाविक रहेको बताउछन् । रामको पनि आफनै तर्क छ । उनले कृष्ण जीले पार्टी चलाउने र म सरकार चलाउँदा पार्टीको हितमा हुने बताउछन् ।
समानुपातिकको सिट टुंगो लागेसँगै मधेश प्रदेशमा नेपाली काग्रेस संसदीय दलको नेता बन्न नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको लविङ सुरु भएको छ । प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ । यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी छन् ।
उनीहरु दुईजनाका आलावा निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका पुन: निर्वाचित सांसद विरेन्द्र सिंह र कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन क्षेत्री पनि संसदिय दलका आकांक्षी छन् । दलको नेताको दाबेदार चारैजना संस्थापन पक्षकै हुन् । कृष्ण वा रामसरोज मध्ये एकजना दलको नेता बन्ने अवसर पाउन सक्ने प्रवल सम्भावना रहेको कांग्रेसकै नेताहरु बताउँछन् ।
यसअघि झण्डै एक वर्ष जसपाका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा महत्वपूर्ण भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका रामको कार्यसम्पादन प्रति पार्टीका नेताहरु सन्तुष्ट भने थिएनन । अहिलेसम्म कांग्रेसको संस्थापन इतरपक्ष शेखर कोइराला समूहबाट कोही पनि दलका नेताका लागि आकांक्षा जाहेर गरेका छैनन् । इतर पक्षका प्रत्यक्ष निर्वाचित सांसद कौशल किशोर यादवले पक्षमा छलफल गरेर मात्र केही कुरा भन्ने बताए ।
मधेश प्रदेशमा सत्ता गठबन्धन कांग्रेस नेतृत्वमै सरकार बन्ने सम्भावनाले दलको नेता बन्न बढी कसरत भइरहेको छ । दलको नेता बने सरकार निर्माण हुँदा स्वत: मुख्यमन्त्री बन्न पाउनेछन् । मधेश प्रदेशमा संस्थापन पक्षकै बाहुल्यता छ । कांग्रेसका २२ सांसदमध्ये प्रत्यक्ष र समानुपातिक २–२ जना गरी ४ जना मात्र संस्थापन इतर पक्षका हुन् । कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको भूमिका पनि दलको नेता बनाउन निर्णायक हुने चर्चा छ । १४ औं महाधिवेशनदेखि देउवासँग चिसिएको निधिको सम्बन्ध पछिल्लो समय सुधार हुँदै गएको छ । त्यसकारण कृष्ण वा रामसरोज कसलाई निधिले साथ दिन्छन्, त्यसमा भर पर्ने कांग्रेसका एक नेताले बताए ।
प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट रहेको छ । प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल बनेको छ । १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेका छन् । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र निर्वाचित भएका छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजिते पनि समानुपातिकतर्फ एक/एक सिट पाएका छन् ।
अनलाइनखवरको सहयोगमा