एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २६ : मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले वरिष्ठ पत्रकार एवं मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष स्व. शिवहरी भट्टराई सरल, सहज, क्रियाशिल र ईमान्दार व्यक्तित्व रहेको स्मरण गर्दै सरकारी कामका दौरान उनको निधन भएकाले मधेश सरकारले उहाँको निधनलाई सहादतको रुपमा बुझेको बताएका छन् ।
स्व. भट्टराई प्रति श्रद्धाञ्जली अर्पण गर्न मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा भएको श्रद्धाञ्जलीसभामा बोल्दै मन्त्री साहले मधेश सरकारको कामकै शिलशिलामा सर्लाहीमा उनको निधन भएकाले मधेश सरकारले सहादतका रुपमा लिएर स्व. भट्टराईलाई स्मरण गरिरहने बताएका छन् । मन्त्री साहले सञ्चारजगतका अगुवाहरुबाट स्व. भट्टराईको नाम र स्मृतीमा सञ्चारसंग सम्बन्धित पुरस्कार सहितका अन्य दिर्घकालिन महत्वको कुनै योजना स्थापना गर्न आएको सुझावलाई मधेश सरकारले स्वीकार गरेको समेत बताएका छन् ।

उनले सञ्चार सहितका प्राविधिक मन्त्रालयहरुमा कर्मचारीहरु काम गर्न र सरुवा भएर आउन नचाहेको गुनासो गरेका छन् । कार्यक्रममा महोतरी मठिहानी नगरपालिकाका मेयर तथा पुर्व पत्रकार हरि प्रसाद मण्डल तथा वरिष्ठ पत्रकार रामभरोष कापडिले स्व. भट्टराई मधेश सरकारको एक प्रतिष्ठानको अध्यक्ष मात्र नभई पत्रकारहरुको अभिभावक समेत रहेकाले उनको सम्मान र पहिचानमा मधेश सरकारले पुस्कारको स्थापना गर्नुपर्ने बताए ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले आफुहरु एक कुशल अभिभावक गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन् । स्व.भट्टराई पद र कुर्सीको लोभी नरहेको सरकारले नै उहाँलाई सम्मानका लागि काउन्सिलको अध्यक्ष बनाएको स्मरण गर्दै उनले स्व.भट्टराई उमेरले पाको भएपनि सुचना धेरै राख्ने व्यक्तित्व रहेको बताए ।

सप्तरी कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका स्व.भट्टराईको स्मरण गर्दै धनुषा र महातरीका वरिष्ठ पत्रकारहरु मधेशको पत्रकारिताले एक कुशल अभिभावक गुमाएको बताउदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा सहभागी हुन गत मंसिर १६ गते शुक्रबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुगेका ६९ वर्षीय भट्टराई १७ गते शनिबार बिहान होटलको कोठामा मृत अवस्थामा भेटिएका थिए । स्वर्गीय भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक सभापति र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपसभापति समेत थिए ।
कार्यक्रममा धनुषाका पत्रकारहरु रामभरत साह, श्यामसुन्दर शशी, श्री नारायण साह, अशोक दत्त, महोतरीका पत्रकार दशरथ भण्डारी सहितकाले स्व. भट्टराईलाई स्मरण गर्दै उनको व्यक्तित्व बारे प्रकाश पारेका थिए । कार्यक्रममा मन्त्रालयका राज्यमन्त्री, सचिव, काउन्सिलका सदस्य कैलाश दास, रिंकु मिश्र गायत्री, बन्दना झा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेश कामत, काउन्सिलका कर्मचारी सहितको उपस्थिती थियो ।