एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २५ : हालको मधेशको आठ जिल्ला कुनै समय कांग्रेसको गोरहा खेत भनिन्थ्यो । गोरहा खेत भनेको सबै भन्दा बढि उब्जनी हुने खेत । तर नेपालको संघिय संविधान पश्चातका दुई निर्वाचनहरुमा कांग्रेसको साख गिर्दै गएको छ । हालै सम्पन्न निर्वाचनमा २०७४ सालको चौथो दलबाट प्रगती गर्दै एमाले पहिलो हुँदा कांग्रेस दोस्रो दलमै सिमित भएको छ ।
२०७९ सालको स्थानिय तह निर्वाचनमा मधेशको राजधानी धनुषाको १८ पालिका मध्ये बागी सहितलाई जोडने हो भने कांग्रेसले मात्र १२ पालिका जितेको छ । २०७९ को स्थानिय तह निर्वाचनमा मधेशको कुल १ सय ३६ पालिकाहरु मध्ये कांग्रेसले ४६ पालिकाको प्रमुख र ५६ पालिकाको उपप्रमुख जित्दा पनि प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमा पाँच दलिय गठबन्धनको नतृत्वकर्ता भएपनि कांग्रेस मधेशमा दास्रो दलमा खुम्चिएको छ ।
गत निर्वाचनमा मधेश प्रदेशको समानुपातिक मतमा एमाले भन्दा करिव ४९ हजार मत बढि ल्याएपनि प्रत्यक्ष तर्फ एमाले भन्दा दुई सिट कम जितेकाले दोस्रो दल बनेको छ । एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरि कुल २३ सिट ल्याउँदा कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ सहित कुल २२ सिट जितेको छ । मधेशमा कांग्रेसको यात्रा ओरालो लाग्नुमा पार्टी भित्रको अनावश्यक गुटबन्दी, अनैतिक गठबन्धन, लोकतन्त्रको मुल्य मान्यता विपरितका गतिविधी र मधेशको भावना भन्दा पनि व्यक्तिगत शक्ति आर्जनमा नेताहरु केन्द्रित रहनु मुख्य कारण रहेको वरिष्ठ अधिवक्ता एवं विश्लेषक युगल किशोर लाल बताउछन् ।
लोक भावनाको कदर गर्न नसक्नुनै अधिकांश समय देशको नेतृत्वमा रहेको कांग्रेस मधेशमा कमजोर हुदै जानु मुख्य कारण रहेको मधेशका जानकारहरुको भनाई छ । कांग्रेसमा बन्धुत्व, समानता र आपसी सदभाव भन्दा पनि शक्तिका लागि अनैतिक प्रतिस्पर्धाको होड चालेको उनीहरुको दावी छ । २०७४ सालको निर्वाचनमा मधेशमा ३ लाख ७० हजार ५ सय ५० समानुपातिक मत पाएको कांग्रेस यसपालिकाको निर्वाचनमा समानुपातिक तर्फ कुल ४ लाख १ सय ४४ मत पाएको छ ।
मधेशमा २०७४ सालको निर्वाचन भन्दा यसपालि करिव साढे पाँच लाख मतदाता थप हुँदा समेत कांग्रेसले मात्र ३० हजार थप मत ल्याएको देखिन्छ । केहि समिति पालिकामा गठबन्धन बाहेक एक्लै चुनाव लडदा स्थानिय तहमा राम्रो नतिजा ल्याएको कांग्रेस प्रदेशमा किन कमजोर भयो ? भन्ने प्रश्नमा कांग्रेस मधेशका सभापती कृष्ण यादवले गठबन्धन भएर सबै क्षेत्रमा कांग्रेसको उम्मेदवारी हुन नसक्नु पनि समानुपातिक मत घटनुको कारण रहेको बताएका छन् भने आन्तिर कलह र गलत प्रतिस्पर्धाका कारण समेत कांग्रेसको सिट घटेको बताए ।
मधेश प्रदेशमा प्रतिनिधीसभाको प्रत्यक्ष तर्फ भने कांग्रेसले २०७४ को तुलनामा यसपालि १ सिट थप जित्न सफल भएको छ । २०७४ सालमा सप्तरी ४, सिरहा १, सर्लाही ४, रौतहट २ र ४ तथा बारा १ गरि मधेशको ३२ मध्ये ६ सिट जितेको कांग्रेस २०७९ मा भने कुल ७ सात सिट जितेको छ जस्मा सप्तरी ३ र ४, धनुषा २, महोतरी ४, रौतहट ४ र पर्सा २ र ४ नम्वर क्षेत्र जितेको छ । २०७४ मा कांग्रेस धनुषा र पर्सामा निल हुँदा यसपालि भने धनुषामा १ र पर्सामा २ सिट निकाल्न सफल भएको छ ।