एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २१ : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालय बीच एकेडेमिक एक्सचेन्ज प्रोग्राम गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका अनुभव सहित विविध पक्षको आदानप्रदान गर्ने उद्देश्यले प्रतिष्ठान र भिलनियस विश्वविद्यालय बीच समझदारी भएको हो ।
समझदारी गर्ने निर्णयसंगै लिथुवानियाबाट आएका टोली बुधवार प्रतिष्ठान अन्तर्गत अस्पतालको निरीक्षण अवलोकन समेत गरेको छ । त्यसक्रममा उनीहरुले प्रतिष्ठान अन्तर्गत दिइने सेवाको विषयमा जानकारी लिएका छन् । त्यसैगरि दुवै पक्ष एक अर्कालाई आ आफनो अनुभव, विचार र दक्ष व्यक्तिको आदान प्रदानका विषयमा परामर्श समेत गरेका छन् ।
यो समझदारीबाट प्रतिष्ठानको सेवामा स्तरीयताका लागि सहयोग हुने प्रतिष्ठानका उपकुलपति प्रध्यापक डाक्टर रामकेवल साहले बताएका छन् । प्रतिष्ठानबाट हुने विभिन्न अनुसन्धानको काममा समेत यो विश्वविद्यालय सहयोग गर्ने उनको भनाई छ । समझदारी कसरी कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबीच गहन परामर्श भएको समेत प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा भिलनियस विश्वविद्यालयका प्रतिनिधीहरु सहित प्रतिष्ठानका रजिष्ट्रार डा. विनोद यादव सहितको उपस्थिती थियो ।