एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १७ : धनुषाको विरेन्द्र बजार राजमार्गमा जन्ती बोकेको विङ्गर गाडी दुर्घटनामा पर्दा चालक सहित पाँचजनाको मृत्यु भएको छ भन्ने आधा दर्जन व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा अन्य एक बालक र तिनजना महिलाहरु पनि छन् । बा १ ज ८३९६ नम्बरको विङ्गर जिपलाई माछा बोकेको पिकअप भ्यानले ठक्कर दिएको मृतकका परिवारजनको भनाई छ ।
महोत्तरीको पिपरा गाउँपालिकाको गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिरेन्द्र बजारमा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।
एसपी रजौरेका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया श्रृजना साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुर रहेका छन् ।
जन्ती बोकेको जीपलाई ठक्कर दिने ज १ च १४९६ नम्बरको माछा बोकेको पिकअप भ्यान र चालक इलाका प्रहरी कार्यालय ढल्केबरको नियन्त्रणमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी दिपक रायले जानकारी दिए । मृतकको शव प्रादेशिक अस्पताल धनुषामा राखिएको छ भने घाइतेहरुको पनि सोहि अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।