एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ११ : जनकपुरधाममा जारी रहेको श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न भएको छ । जनकपुरधामको जानकी मन्दिरबाट माता जानकीको स्वरूपलाई कलात्मक रथमा राखेर नेपाली सेनाको व्याण्ड र अन्य बाँजा गाँजासहित सुरक्षाकर्मीहरूको सुरक्षा घेरामा जनकपुरधामको प्रसिद्ध गंगासागरमा माटो खन्ने गरिन्छ जसलाई मटकोर विधि भनिन्छ ।
गंगासागरमा आयोजना हुने मटकोर विधिमा सहभागी हुनका लागि जानकी मन्दिरबाट साधु सन्त, महन्थ, योगी, सन्यासी, भिक्षु भिक्षुणी तथा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको छ । मटकोर विधिमा आज दिउँसै सेभ हिस्टोरिकल जनकपुरधामद्वारा गंगा आरतीको आयोजना गरिएको छ ।
मटकोर विधिमा महिलाहरूले विभिन्न प्रकारका परम्परागत सांस्कृतिक गीतहरू पनि गाएका थिए । मटकोर विधि हेर्नका लागि गंगासागर क्षेत्रमा ठूलो सङ्ख्यामा भक्तजनहरूको सहभागिता रहेको थियो । मटकोर विधिमा उत्खनन् गरेर ल्याएको माटोलाई जानकी मन्दिरमा निर्माण गरिने विवाहको मण्डपमा बनाइने विवाहको बेदीमा प्रयोग गरिने परम्परा रहेको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत भोलि दिउँसो स्वयंम्बर तथा राति जानकी मन्दिरको परिसरमा निर्माण भएको विवाह मण्डपमा प्रतिकात्मक विवाहको कार्यक्रम रहेको छ । सप्ताहव्यापी विवाह पञ्चमी अन्तर्गत १३ गते मंगलवार रामकलेवा रहेको छ । रामकलेवामा भारतबाट आएका जन्ती तथा सरीयातीहरुलाई राखेर प्रसादको रुपमा भोजन र दक्षिणाका साथ सोही दिन जन्तीहरूलाई बिदाइ गर्ने चलन रहेको छ ।
विवाहपञ्चमीलाई दृष्टिगत गर्दै मधेश प्रदेश सरकारले सोमवार सरकारी विदाको घोषणा गरेको छ भने जनकपुरधामको विद्यालयहरुमा तिन दिनको विदा दिइएको छ । साथै कुर्था–जनकपुरधाम–जयनगर रेल्वे सेवा ११, १२ र १३ गते तिन दिन तिनको तिन पटक सञ्चालनमा ल्याएको छ । रेल जयनगर रेल्वे स्टेशनबाट कुर्थासम्म बिहान साढे ८ बजे , दिउँसो साढे १२ बजे तथा साढे ३ बजे जनकपुरधामका लागि प्रस्थान गर्नेछ भने जनकपुरधामबाट बिहान १०:४५ बजे, १:४० बजे र ५:१५ बजे जयनगरका लागि छुट्ने बताइएको छ ।