एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर ४ : निर्वाचन आयोगले देशभर ६१ प्रतिशत मतदान भएको जनाएको छ । यो संख्यामा सबै विवरण आएपछि केही प्रतिशत वृद्धि हुने आयोगले जनाएको छ । आयोगले अपेक्षा भन्दा कम मतदान भएको पनि उल्लेख गरेको छ । आयोगले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको पनि जनाएको छ ।
यस्तै आयोगले निर्वाचन सफल बनाउने सबैलाई धन्यवाद समेत दिएको छ । धनुषा सहित मधेशमा पनि समग्रमा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ । दलहरुको गठबन्धन प्रतिको अरुचिका कारण मतदानमा सहभागिता कम भएको बताइन्छ । घर बाहिर रहेकाहरु मतदान गर्न ईच्छुक नभएकाले गाँउ गएर मत खसाउनेको संख्यामा पनि कमि आएको छ ।
मधेशको आठवटै जिल्लामा भएको मतदानमा पुरुष भन्दा बढि महिला मतदाता मतदानमा सहभगिता जनाएको देखिएको छ । दल र तिनका नेताहरुले केहि गर्न नसक्नु र पुन: गठबन्धनको नाममा त्यही नेताहरुलाई मत दिनपर्ने अवस्था आएकाले मतदाता दिक्क मानेर मतदानमा सहभागिता जनाउन नचाहेको देखिन्छ ।
मधेशमा कांग्रेसले माओवादीलाई मत खसाल्न नचाहेको, आन्तिरक र स्थानिय रुपमा कांग्रेस र माओवादीका कार्यक्रताहरुको मनको गठबन्धन हुन नसकेको सहितका कारण समेत मतदानमा कांग्रेसका कार्यक्रताहरुको उत्साहवर्दक सहभागिता नदेखिएको नेताहरु बताउछन् ।
मधेशमा करिव ६४ प्रतिशत मतदान
मधेश प्रदेशमा ६३ दशमलव ३५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रदेशको आठवटै जिल्लामा ६३ दशमलव ३५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशको धनुषा जिल्लामा ६२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।
रौतहटमा भने ६५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत मातृका मरासिनीले बताए । उता, सिरहामा ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिएका छन् । त्यस्तै, बारामा ६६ दशमलव ८६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पूर्णेश्वर प्रसाद उपाध्यायले बताए ।
पर्सामा भने ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले जानकारी दिएका छन् । उता, सप्तरीमा ६२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिएका छन् ।महोत्तरीमा भने ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताएका छन् । त्यस्तै, प्रदेशको सर्लाही जिल्लामा ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।
यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको थियो । प्रदेशमा कूल ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् । प्रदेशका ३२ प्रतिनिधि तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आज मतदान सम्पन्न भएको हो । प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाता छन् ।